दशदिन बितिसक्दा पनि हिमालपारिको जिल्ला मनाङको जंगलमा लागेको डढेलो अझै निभेको छैन। डढेलो नियन्त्रणका लागि प्रयास गरेको भएपनि सहज नभएको स्थानीय प्रशासनले बताएको छ। डढेलोले ठूलो आकारको वनक्षेत्र नोक्सान भएको स्थानीय प्रशासनले बताएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले १० दिन अघि लागेको डढेलो अझैसम्म नियन्त्रणमा नआएको बताए। उनका अनुसार चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा अघिल्लो शनिबार बेलुकी डढेलो सल्केको थियो। तिमाङ बस्तीको सिरान क्षेत्रमा आगलागी भएकोले अहिलेका लागि बस्तीमा जोखिम नरहेपनि निभाउने प्रयास सहज नभएको प्रजिअ आचार्यले जानकारी दिए।
‘सोमबार अलिअलि वर्षा भएकोले आगो नियन्त्रणमा आउने अनुमान मात्र गर्न सकिन्छ। तर, निभेको छैन। दशदिनदेखि लागेको आगो मान्छेको भरमा मात्र निभाउन सहज छैन,’ उनले भने, ‘स्थानीय र सुरक्षाकर्मीको प्रयास निरन्तर छ। तर, आगो निभाउने प्रयासले सार्थकता पाउन सकेको छैन। यो सिजनमा एकपटक पनि हिउँ नपरेपछि सुख्खा भएको क्षेत्रमा डढेलो लाग्दा हिमालपारिको क्षेत्र मनाङको वन क्षेत्रमा ठुलो क्षति भएको उनले बताए।
‘सल्लोको जंगल हो। यो सिजनमा अहिलेसम्म एकपटक पनि हिउँ परेको छैन। त्यसले गर्दा सुख्खा भएको वनमा आगो सल्कन सहज भएको हो,’ उनले भने, ‘बस्तीतिर आगो फैलन नपाओस भनेर बस्ती नजिकै अग्नीरेखा पनि बनाएका छौ। बस्ती नजिक ठूलो संख्यामा सुरक्षाकर्मी पनि तयार अवस्थामा राखेका छौं।’ उनका अनुसार करिब १० हेक्टर क्षेत्रफल वन क्षेत्र जलेको अनुमान छ।
‘सल्लोको वन क्षेत्र भएकोले सुख्खा बढी थियो। त्यसैमाथि आगोले काठका मुढा पनि सल्केका छन। त्यसले गर्दा निभाउन सहज भएको छैन,’ उनले भने, ‘ठाडो भिरालो क्षेत्रमा आगलागी भएकोले माथिबाट बारम्बार ढुंगा खसेकोले पनि निभाउन जान सकिने अवस्था छैन।’
आगलागी भएको वन क्षेत्रको पुछारमा २६ सय ५० मिटर उचाईँमा तिमाङ बस्ती रहेको छ। तिब्रगतिमा हावा चल्यो भने हावाले आगोको झोक्का नै बस्तीमा पुर्याउने त्रासले पनि अग्नीरेखा बनाएर सुरक्षाकर्मी खटाएको उनले बताए। ‘पानी नपरेमा तत्कालै आगो नियन्त्रणमा आउने सम्भावना पनि कम रहेको छ, हावाको गतिसँगै आगो पनि फैलिएको छ। डढेलो लागेको राष्ट्रिय वन क्षेत्र हो, जुन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ। ‘अहिलेका लागि बस्तीमा जोखिम त छैन। तर, तिब्रगतिमा हावा चल्यो भने बस्ती पनि जोखिममा पर्न सक्छ,’ उनले भने।
आगो लागेको जंगलको पुछारमा तिमाङ बस्ती छ। सिरान क्षेत्रमा बस्ती रहेको भए बढी जोखिम हुन्थ्यो। तर पुछारमा बस्ती भएकोले तत्काल बस्ती जोखिममा नरहेपनि सचेत हुन जरुरी रहेको प्रजिअ आचार्यले बताए। हिउँ नपर्दा सुख्खा भएको क्षेत्रमा आगो लागेकोले सावधानी अपनाउन जरुरी रहेको उनले सुनाए।
उनका अनुसार करिब २८ सय मिटर माथिको उक्त क्षेत्रमा डढेलो फैलिएको छ। वनमा कसले डढेलो लगाएको भन्ने यकिन जानकारी नभएको उनले बताए। वन्यजन्तु, बहुमुल्य जडिबुटी, रुख विरुवा नोक्सान भएको पनि उनले बताए। ‘यो सिजनमा एकपटक पनि हिउँ परेन। त्यसैले बिहान साँझ चिसो भएपनि दिउँसोको तापक्रम बढेको छ। वन क्षेत्रमा पनि पुरै घास सुकेको छ। त्यसैले आगो फैलिन सहज बनेको छ,’ उनले भने।
चामे गाउँपालिका–१ का अध्यक्ष खड्कजंग गुरुङले पनि वनमा लागेको डढेलो नियन्त्रणमा नआएको बताए। सोमबारको वर्षाले आगलागी नियन्त्रणमा आउनेमा आफुहरु आशावादी रहेको उनले बताए। ‘तत्काल बस्तीमा त आगो आउँदैन। तर, यस्तै अवस्था रहिरह्यो भने भन्न सकिन्न। त्यसैले सचेत त हुनैपर्छ,’ उनले भने। गुरुङका अनुसार सल्लोको वन क्षेत्र भएकोले सल्लोका रुख र हाँगाबिंगा जंगलमा पर्याप्त थिए। सल्लोको खोटोमा आगो सल्केकोले पनि निभ्न समय लागेको उनले बताए।
‘घास मात्र सल्केको भए सामान्य वर्षाले पनि आगो निभ्थ्यो। तर, सल्लाका रुख र मुढाहरु सल्केकोले खोटो पनि जलेको छ। त्यसले गर्दा आगो निभ्न सकेन,’ उनले भने, ‘ठाडो भीर भएकोले निभाउन जान पनि सकिएन।’ यसअघि आगो निभाउनका लागि सुरक्षाकर्मी, स्थानीय सहितको टोली परिचालित भएपनि फैलदो आगो नियन्त्रणमा आउने सम्भावना नभएपछि टोली फर्केको थियो।
‘भीरमा आगो लागेको छ । भीर भएकोले जान सक्ने सम्भावना छैन। बस्तीमा आगो आउन नपाओस भनेर अग्नीरेखा बनाएका छौ। तर, हावा चलेकोले त्रास पनि छ,’ उनले भने, ‘कसले आगो लगाएको भन्ने यकिन छैन।’ अहिले आगो लागेको क्षेत्र हिउँ पर्ने ठाउँ हो। तर, यो सिजनमा एकपटक पनि हिउँ नपरेकोले सबैतिर सुख्खा छ। त्यही सुख्खा भएकोलो पनि आगो फैलिन सहज भएको उनले बताए।
हिमाली जिल्ला मनाङमा पछिल्ला केहीवर्षदेखि वनजंगलमा नियमित जसो आगलागी हुने गरेको छ। २०७७ मा चामे गाउँपालिका–२ थानचोकको वन क्षेत्रमा भीषण आगलागी भएको थियो। त्यही वर्ष नासों गाउँपालिकाको ताचैमा पनि भीषण डढेलो लागेको थियो। पोहोर पनि मनाङका विभिन्न वन क्षेत्रमा आगलागी भएको थियो।
प्रकाशित: २८ माघ २०८१ १८:०४ सोमबार