पछिल्लो समय आगलागीका घटना बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायाम लागेसँगै आगलागीका घटना बढिरहेको जनाउँदै यो क्रम अझै बढ्न सक्ने भएकाले सचेत हुन अनुरोध गरेको छ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आफू सचेत हुँदा पनि धेरै घटना हुनसक्ने भन्दै घटना भइहाले सावधानी अपनाउनुपर्ने र व्यक्ति स्वयं सचेत हुनुपर्ने बताए। अधिकांश आगलागी मानवसिर्जित रहेकाले पनि समयमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।
जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार मात्रै उपत्यकामा सिंहदरबारस्थित खानेपानी मन्त्रालयको कोठामा र काठमाडौँ अनामनगरको राजन मिट सपमा आगलागी भएको जानकारी दिएको छ।
परिसरले शनिबारै एक सूचना जारी गरी गत पुस १ गतेदेखि आजसम्म काठमाडौँमा ३४ वटा आगलागीका घटना भएको सार्वजनिक गरेको छ। परिसरले आगलागीबाट जोगिन र ध्यान दिन सबैमा अनुरोध पनि गरेको छ।
यसरी जोखिन सकिन्छ आगलागीबाट
परिसरद्वारा शनिबार सार्वजनिक सूचनामा सलाई, लाइटरजस्ता आगजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्न, ‘स्मोक डिटेक्टर’ राख्न, आगलागीबाट बच्नका लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्न अनुरोध गरिएको छ।
यसैगरी, आगलागी भएको अवस्थामा वरपर रहेका व्यक्तिहरूलाई (अलार्म बजाएर वा चिच्याएर) जानकारी गराउन तथा सकभर चाँडै बाहिर निस्कन पनि अनुरोध गरिएको छ।
'कहिलै पनि घरभित्र लुक्ने प्रयास नगर्नुहोस्, घरबाहिर निस्किसकेपछि सबै परिवार सुरक्षित बाहिर आए÷नआएको यकिन गर्नुहोस्। आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीलाई जानकारी गराउनुहोस्, धुवाँ भरिएको स्थान भएर बाहिर निस्कनुपर्दा घोप्टो परेर घिस्रेर निस्कनुहोस्। जसले गर्दा श्वासप्रश्वासका लागि सहज हुन सक्दछ,' परिसरले सार्वजनिक गरेको सूचनामा भनिएको छ।
ढोका खोल्नुअगाडि ढोका ताते/नतातेको यकिन गर्न, यदि ढोका तातेको भए उक्त ढोका नखोली अन्य मार्ग भएर बाहिर निस्कन तथा लगाएको कपडामा आगोले टिप्यो भने नदौडन पनि अनुरोध गरिएको छ। काठमाडौँ प्रहरीले यसरी दौडिएको अवस्थामा आगो अझ चाँडै बल्ने हुनाले रोकिएर आगो निभाएर मात्र भाग्न पनि अनुरोध गरेको छ।
प्रकाशित: २७ माघ २०८१ ०६:३१ आइतबार