समाज

लुम्बिनीमा बनाइयो सुरक्षित आप्रवासन सम्बन्धी कार्य योजना

लुम्बिनी प्रदेशमा सुरक्षित आप्रवासन सम्बन्धी कार्य योजना बनाइएको छ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयले सुरक्षित आप्रवासन सम्बन्धी सचेतनामूलक कार्यक्रम प्रदेशमा प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसलाई थप अभिवृद्धि गर्ने गरी कार्य योजना बनाइएको हो ।

प्रदेशमा सुरक्षित आप्रसान (सामी) कार्यक्रम सञ्चालन भइरहेको छ । बुधबार मन्त्रालयमा बसेको प्रदेश स्तरीय समन्वय समितिको बैठकले सामी परियोजनाले गरेका हाल सम्मका कामको समीक्षा गर्दै यसलाई अझ अभिवृद्धि गर्ने निष्कर्ष निकालेको हो ।  यो परियोजना अन्तर्गत सुरक्षित वैदेशिक रोजगार। वैदेशिक रोजगारीका क्रममा हुने गरेका ठगी लगायतका बिषयमा पैरवी हुँदै आएको छ ।

‘सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना अति महत्त्वपूर्ण कार्य हो, अहिले सामी परियोजना अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीका लागि महत्त्वपूर्ण कदम चालिएको छ,’ बैठकका अध्यक्ष तथा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘सुरक्षित वैदेशिक रोजगारीका लागि तीनै तहका सरकार सँगै सबै सरोकारवालाहरूको चिन्तन र सक्रियता आवश्यक छ ।’

बैठकले सुरक्षित आप्रवासनका लागि यो परियोजनालाई बिस्तार गर्ने निर्णय गरेको छ ।  साथै सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना कार्यक्रमलाई अझ बढवा दिने निर्णय पनि बैठकले गरेको छ । यसै गरी बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरूले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि सबैको साझा सक्रियता आवश्यक रहेको बताएका छन्। 

प्रकाशित: २३ माघ २०८१ १४:३५ बुधबार