समाज

माघ २३ देखि नेपाल–भारत नाट्य महोत्सव

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यस वर्ष भारतको ‘नेसनल स्कुल अफ ड्रामा (एनएसडी) सँग सहकार्य गर्दै नेपालमा साताव्यापी नाट्य महोत्सव आयोजना गर्ने भएको छ।

यही माघ २३ देखि ३० गतेसम्म चल्ने यस महोत्सवमा नेपालका तीन र भारतका तीन गरी ६ नाटक मञ्चन गरिने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा पोखरेलले बताइन।

‘नेपाल–भारत रङ महोत्सव आयोजना गर्न लागेको यहाँहरूलाई जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गौरव र खुसीको अनुभूति भएको  छ’; प्रतिष्ठानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भनिन्, ‘यो महोत्सवले नेपाल र भारतबिचको सम्बन्धलाई समृद्ध बनाउने हामीले विश्वास लिएका छौं।’

यस महोत्सवले दुई देशका साझा सम्पदा, सृजनशीलता र कलाको गहिरो भाषालाई जोड्ने आशा तथा विश्वास लिएको प्रतिष्ठानले जनाएको छ।

‘यस महोत्सवका लागि नेपालबाट पहिले नै दुईवटा नाटक छानिएका छन्- दिया मास्केको ‘कथा कस्तुरी’ र नम्रता केसीको ‘जून’, पोखरेलले भनिन्  ‘योसँगै हामीले उत्पादन गरेको नाटक ‘गच्छामी’ (निर्देशक: सुनिल पोखरेल, सहनिर्देशक वीरेन्द्र हमाल) लाई महोत्सवमा देखाइनेछ।’

यस कार्यक्रममा भारतको संस्कृति मन्त्रालयका प्रतिनिधिहरू, एनएसडीका उपाध्यक्ष, निर्देशक लगायत प्रतिनिधिहरू र भारतीय पत्रकारको सहभागिता हुने जानकारी शर्माले दिइन्।

‘यो उनीहरूकै महोत्सव हो तर हामीले आयोजना गर्दै छौँ,’ उनले भनिन् ‘यसको नाम पनि हामीले ‘नेपाल–भारत रंंग महोत्सव’ राखेका छौँ।’

नाटकहरू सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा निःशुल्क मञ्चन हुनेछन्।

यस्तो छ नाटक मञ्चन तालिका:

माघ २३ गते  साँझ ५ बजे सिके लालद्वारा लिखित सुनिल पोखरेल निर्देशित नाटक गच्छामी प्रदर्शन हुने छ।

त्यस्तै २४ गते नाटक कथा कस्तुरी, प्रदर्शन हुनेछ। जसका लेखक नयन राज पाण्डे र निर्देशक दिया मास्के रहेका छन्।

२७ माघ २०८१ साँझ ५ बजे नाटक जुन परिकथा मात्र होइन प्रदर्शन हुनेछ। जसका लेखक संयोग गुरागाई, निर्देशक नम्रता केसी छन्।

२८ माघ साँझ ५ बजे नाटक माई री में का से कहुं प्रदर्शन हुने छ। जसका लेखक विजयदन देथा र निर्देशक श्री अजयकुमार रहेका छन्।

२९ माघ साँझ ५ बजे भारतीय नाटक बाबुजी प्रदर्शन हुनेछ। जसका लेखक मथिलेश्वर र  निर्देशक राजेश सिंह रहेका छन्।

नाटकको अन्तिम दिन ३० माघ साँझ ५ बजे ताजमहलका टेण्डर देखाइने छ। जसका लेखक अजय शुक्ल र निर्देशक चितरंजन त्रिपाठी छन्।

प्रकाशित: १७ माघ २०८१ २१:३९ बिहीबार