समाज

एक्लै रमाइरहेका नेपाली महिलाहरू

पछिलो समय एकल महिला संख्या बढेसँगै नेपाली समाज एकल खुसीमा रमाउन चाहेको हो त भन्ने प्रश्न उठेको छ । त्यसो त एकल महिलामा ठूलो हिस्सा विधवाको छ । विधवा हुनु कसैको चाहनाको विषय होइन । पछिल्ला वर्षमा विवाह गर्ने उमेर बढे पनि केही दशकअघिसम्म सानैमा बिहे गरेका कारण नेपाली महिला ६४ वर्षको उमेरसम्म आइपुग्दा विधवा हुने गरेको तथ्यांकले देखाएका छन् ।

बिहे नै नगरी र सम्बन्ध विच्छेद गरेर बस्नेको संख्या बढ्दो क्रममा छ । यसले पारिवारिक व्यवस्था, समुदाय र समाजको आधारस्तम्भ मानिने विवाह जस्तो सामाजिक संस्था (सोसियल इन्स्टिच्युसन) प्रतिको धारणा बदलिँदै गएको छ । लैगिंक समानता,  आर्थिक सक्षमता र व्यक्तिगत स्वतन्त्रताको चाहनाले पश्चिमा समाजमा धेरै अघिदेखि देखिएको चरित्र नेपाली समाजमा पनि प्रखर हुन थालेको विज्ञ मान्छन् ।

नेपाली समाजमा देखिएको परिवर्तनका लागि कारण अनेक छन् । कति आफ्नो उन्नतिलाई प्राथमिकता दिँदा विवाहलाई दोस्रो प्राथमिकतामा राखेको बताउँछन् । आधुनिक समाजमा खोजिने व्यक्तिगत खुसी, स्वतन्त्रता, विलासिता र प्रतिष्ठाको चाहनालाई विवाहले सीमित पार्ने धारणा राख्दै पारिवारिक झमेलामा पर्नु भन्दा एक्लै बस्न रुचाउनेको संख्या उत्तिकै छ ।

कुल १४ प्रतिशत एकल महिलामध्ये विधवा संख्या १२ प्रतिशत हुनु आफैंमा चिन्ता र अनुसन्धानको विषय हो । किन यति धेरै महिला विधवा भएका छन् त ? यसको एउटै कारण हो– छोरीहरूको सानै उमेरमा विवाह हुनु ।

स्वाभाविक हो, आर्थिक आत्मनिर्भरताले महिलालाई सक्षम बनाएको छ । यसअघि आर्थिकरूपमा आफ्नै खुटमा उभिन नसक्ने र परनिर्भरतामा बस्नुपरेको अवस्थामा घरायसी हिंसा र बेमेल हुँदाहुँदै पनि महिलाहरू सहेर र दबिएर बस्नुपर्ने बाध्यता थियो । तर  महिलाको शैक्षिक स्तर बढेसँगै पछिलो समय उनीहरूको आर्थिक र समाजिक हैसियत बढेको छ । आर्थिकरूपमा अत्मनिर्भर हुँदै गएपछि आत्मसम्मानका साथ बस्न रुचाउने महिला संख्या बढेको मान्न सकिन्छ । यसरी पछिल्ला वर्षमा नेपाली समाजको आधारभूत चरित्रमा परिवर्तन आएको छ  । एक्लो अवस्थामा समेत खुसी हुन र अगाडि बढ्न नेपाली महिलाले सिक्दै गएका विज्ञ मान्छन् ।

नेपालमा एकल महिनाको संख्या विगतका दशक भन्दा बढेको पछिल्लो राष्ट्रिय जनगणनाको तथ्यांकले देखाउँछ । यसले  एकल महिलाको जनसांख्यकीय गतिशीलता बढेको प्रष्ट हुन्छ । राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ मा गरेको जनगणना प्रतिवेदनअनुसार नेपालका कुल साढे ६६ लाख घर-परिवारमध्ये झण्डै साढे ९ लाख घर÷परिवारमा कम्तीमा एक एकल महिला छन् । यसरी कुल घर-परिवारमध्ये १४ प्रतिशत घर÷परिवारमा एकल महिला छन्  ।

यो १४ प्रतिशत घर-परिवारमध्ये १२ प्रतिशत विधवा छन् भने अविवाहित, सम्बन्ध विच्छेद र भिन्न बसेका समेत गरी २ प्रतिशत छन् । जनगणनाको प्रयोजनका लागि कार्यालयले नेपालमा ३५ वर्ष वा सो भन्दा माथिका विवाह नगरेका महिला, विधवा, पारपाचुके गरेका र भिन्न बसेको महिलालाई एकल महिला भनी परिभाषित गरेको छ ।

घर-परिवारका हिसाबले ९ लाख ३६ हजार घर-परिवारमा कम्तीमा एक एकल महिला रहे तापनि जनसंख्यागत हिसाबले नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ एकल महिला रहेका देखिएको छ । यसको अर्थ एकै घर÷परिवारमा एक भन्दा बढी एकल महिला छन् ।

यो पनि पढ्नुहोस्

उच्चासनका महिलाहरू

अनौठो के देखिएको छ भने एकल महिलामा विधवाको वर्चस्व छ ।  कुल ९ लाख ९७ हजार एकलमध्ये विधवा संख्या ८ लाख २६ हजार १ सय ४७ छ । पारपाचुके एकल महिला संख्या २१ हजार २ सय ८७, छुट्टिएर बसेकाको संख्या ५९ हजार ५ सय २५ र अविवाहित एकल महिला संख्या ९० हजार ७ सय ३ छ ।

पछिल्लो जनगणनाअनुसार दश वर्ष वा सोभन्दा माथिका कुल महिलामध्ये ८.२ प्रतिशत एकल महिला छन् । यीमध्ये विधवा महिलाको संख्या ६.६ प्रतिशत छ । चाखलाग्दो के छ भने सन् २००१ को जनगणनामा एकल महिला ३.७ रहेकामा सन् २०२१ मा आइपुग्दा यो झण्ढै दोब्बरले बढेको छ । त्यस्तै सन् २००१ मा १० वर्ष र सो भन्दा माथिका विधवा महिला ३.९ प्रतिशत मात्र रहेकामा सन् २०२१ मा थप ३ प्रतिशतले बढेर यो ६.६ प्रतिशतमा उक्लेको छ ।

विगत २ दशकमा सम्बन्ध विच्छेद र भिन्न बस्ने दर पनि बढेको छ । पैँतीस वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने सन् २०२१ मा यो बढेर ०.७ प्रतिशत पुगेको छ ।

एकल महिलाको अर्को समूह भनेको पारपाचुके गर्नेको हो । पछिलो दशकमा पारपाचुके गर्ने महिला संख्या पनि ह्वात्तै बढेको छ । विस्तारै महिलाको शैक्षिक स्तर, साक्षरता र आर्थिक स्तर राम्रो हुँदै गएपछि महिला दबिएर, हेपिएर तथा घरेलु हिंसा सहेर नबस्ने भएका मानिएको छ । 

राष्ट्रिय स्तरमा, २००१ मा ३८ प्रतिशत एकल महिला एक्लै बस्ने गर्थे जुन २०११ मा बढेर ४१ प्रतिशत र सन् २०२१ मा बढेर ५५ प्रतिशतमा पुगेको छ । बढ्दो प्रवृत्तिका यी तथ्यांकले नेपालमा सबै भौगोलिक क्षेत्रमा एकल महिलाको विस्तारित एक्लोपनको प्रवृत्तिलाई उजागर गर्छ ।

के एक्लै खुसी छन् त महिला ?

खुसी के हो त ? यसको परिभाषा त्यति सजिलो छैन । तर समय र कालखण्डसँगै यसको परिभाषा र अनुभूति फेरिँदो छ । पछिल्ला जनसांख्यिक गतिशीलताको पृष्ठभूमिमा नागरिकले विभिन्न क्षेत्रका महिलालाई सोधेका थियो– खुसी के हो र बढ्दो एकल महिलाको जनसंख्याको सन्दर्भमा यसलाई कसरी हेर्ने ?

कलाकार दीपाश्री निरौला

खुसी आफैँ खोज्नुुपर्छ, कसैले दिने होइन् 

कलाकार दीपाश्री निरौला आफ्नो खुसी आफैँ खोज्नुपर्ने सुझाउँछिन् । ४९ वर्षीय निरौला आफ्नो एकल जीवन निकै सुखमय र खुसीमय रहेको दाबी गर्छिन् । यो खुसी उनलाई कसैले दिएर होइन कि उनी आफैँले खोजेको उनको निष्कर्ष छ ।

विराटनगरमा जन्मेकी निरौलालाई उमेर हुँदै बिहेको दबाब घर÷परिवार र समाजबाट नआएको होइन । एकताका त यस्तो थियो कि उनी बिहेको दबाब थेग्नै नसक्ने अवस्थामा पुगेकी थिइन ।  तर एक्लै बस्नुपर्ने रहर नभएर बाध्यता बनेको उनको अनुभव छ । ‘एक्लै बस्छु भनेर बसेको होइन । परिवारको निकै दबाब पनि थियो तर मेरो काम र करिअरका लागि म एक्लै बसेकी हुँ’– दीपाले सुनाइन् । हुन पनि १५ वर्षको कलिलो र चञ्चले उमेरमा उनी काठमाडौँमा कलाकार बनिसकेकी थिइन् ।

घरबार बसाओस् भन्ने आमा बुबाको इच्छा र सपना थियो तर २०४७ मा आमाको मृत्युपछि उनको काँधमा घरको जिम्मेवारी थपियो । ‘साँच्चै भन्ने हो भने करिअर र काममा म यति ब्यस्त भएँ कि बिहे गर्ने समय नै जुरेन’– उनी भन्छिन् ।  चार दिदी÷बहिनी र एक भाइमध्येकी साइली दीपाले बुबाले एक्लो महसुस गरेको देखेर आफैँले अग्रसर भएर बुबाको पुनः विवाहसमेत गराइदिएर परिवार व्यवस्थित गराइदिएकोमा सन्तुष्टि व्यक्त गर्छिन् ।

मेरो जीवन, मेरो मर्जी

८ वर्षको उमेरमा विराटनगरको रंगमञ्‍चबाट बालकलाकारका रूपमा कला क्षेत्रमा पाइला टेकेकी दीपा आज देशविदेशमा समेत परिचित नाम बन्न पुगेकोमा गौरव महसुस गर्छिन् । ‘चलचित्र क्षेत्रमा लोभ पलाउँदै गयो । निर्देशक भएँ । छक्का पञ्जा राम्ररी चल्यो । अब दर्शकप्रतिको जिम्मेवारी झनै बढ्दै गएको छ’, भागवान्प्रति निकै आस्था राख्ने दीपाले अनुभव सुनाइन्– म कहिल्यै धेरै महत्वाकांक्षी थिइन् । किनभने मलाई राम्ररी थाहा थियो, यसले पीडा दिन्छ । तर भविष्यका लागि पैसा ठूलो आवश्यकता हो भन्ने मैले बुझेकी थिएँ । म कमाउनतिर लागेँ । के बन्नेबारे आफूमा आत्मविश्वास हुनुपर्छ । त्यो कुरामा पूर्णता ल्याउनुचाहिँ पर्छ । आत्मनिर्भर भएपछि एक्लैमा खुसी मिल्छ ।

विवाह गरेर लोग्नेसँग जीवन बिताउनुपर्ने सोच भएको समाजमा आफूले महिलाले चाहे एक्लै पनि जीवन जिउन सक्ने उदाहरण दिएको ठान्दै दीपा थप्छिन्– ‘एक्लै मसहुस गरे हजारौँको भिडमा पनि एक्लै महसुस हुन्छ तर जब खुसी खोजिन्छ त्यो एक्लैमा पनि भेटिन्छ । म आत्मनिर्भर भएकै कारण निर्णय आफैँ लिन्छु । कामप्रति कसैको रोकटोक छैन । विन्दास छु । मेरो जीवन, मेरो मर्जी ।

यो पनि पढ्नुहोस्

इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए

यसरी विवाह नगरी एकल जीवन बिताउनेमा निरौला मात्र होइनन्, नेपालमा ९० हजार ७ सय ३ अविवाहित महिला छन् । र, यो संख्या ६ दशकको दौरान दोब्बरले बढेको छ । २०१८ सालमा अविवाहित महिला संख्या १५.५१ प्रतिशत थियो भने २०४८ सालमा २५.७ प्रतिशत पुग्यो । अनि २०५८ मा ३०.३ प्रतिशत पुगेको थियो भने २०७८ सालको जनगणनासम्म आइपुग्दाचाहिँ घटेर २८.४ प्रतिशतमा झर्‍यो ।

एकल महिलाको अर्को समूह भनेको पारपाचुके गर्नेको हो । पछिलो दशकमा पारपाचुके गर्ने महिला संख्या पनि ह्वात्तै बढेको छ । विस्तारै महिलाको शैक्षिक स्तर, साक्षरता र आर्थिक स्तर राम्रो हुँदै गएपछि महिला दबिएर, हेपिएर तथा घरेलु हिंसा सहेर नबस्ने भएका मानिएको छ । मानसिक तनाव झेल्नु भन्दा आत्मनिर्भर भएर बाँच्ने बाटो रोजेका कारण पारपाचुकेको संख्या बढेको भुक्तभोगीहरूको अनुभव छ ।

मिडिया पर्सन माल्भिका सुब्बा

सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन

६ वर्षको वैवाहिक जीवनमा अनेकखाले उतारचढाव झेलेकी मिडिया व्यक्तित्व माल्भिका सुब्बाको पतिसँगको सम्बन्ध अन्त्य भएको छ । जब दुई पक्षबीच सम्बन्धमा विश्वासको कमी आउँछ, त्यसलाई लामो समयसम्म नतानेकै बेस ठान्छिन् उनी । ‘घरमा स–साना विषय जब ठूलो विषय (इस्यू) बन्छन्, तब मान्नुस् कि तपाईंको सम्बन्ध अब लामो समय चल्न सक्दैन’– अनुभवका आधारमा भन्छिन् सुब्बा ।

विवाहअगाडिसम्म विन्दास जीवन बिताइरहेकी सुब्बाको डेढ वर्षसम्म मायाप्रेम बसेरै प्रेम विवाह भएको थियो । विवाहको सुरुको तीन वर्षसम्मको पतिसँगको सम्बन्ध सुमधुर थियो । त्यसपछि उनीहरू दुवैबीच कतिपय कुरा नमिले पनि उनले सहेरै बसिन् । किनभने विवाहपछि श्रीमान्कै घर आफ्नो घर हुने समाजमा हुर्किएकी सुब्बालाई पनि सहनुपर्ने संस्कार लागु गर्नुपर्ने बाध्यता थियो । तर जीवनको कठिन भोगाइमा उनलाई आमाले दिएको शिक्षाले काम दियो । ‘डिभोर्स गरे दुःख पाइन्छ भन्ने त्रास ममा पनि थियो तर दुःख सहेर मात्र बस्दा पनि जीवन जान्छ भन्ने पनि मलाई राम्ररी थाहा थियो’, सुब्बाले विगत सम्झिइन्– तर आमाले मलाई दिएको शिक्षा ‘सफल र बलियो बन्न आत्मनिर्भर हुनुपर्छ’ भन्ने थियो । जुन म थिएँ । त्यसैले आँट गरे डिभोर्स लिएँ । डिभोर्स भनेको जीवनको अन्त होइन, सुरुवात हो । यस्तो अवस्थामा आफू आर्थिकरूपमा आत्मनिर्भर भने अनिवार्यरूपले हुनैपर्छ ।

 कुल ९ लाख ९७ हजार एकलमध्ये विधवा संख्या ८ लाख २६ हजार १ सय ४७ छ । पारपाचुके एकल महिला संख्या २१ हजार २ सय ८७, छुट्टिएर बसेकाको संख्या ५९ हजार ५ सय २५ र अविवाहित एकल महिला संख्या ९० हजार ७ सय ३ छ ।

सधैँ परिवारको साथमा बस्ने बानी परेकी सुब्बालाई सुरुमा त पतिसँग छुट्टिएर बस्न आर्थिक, मानसिक र सामाजिकरूपमा असहज भयो । तर उनले हरेश मानिनन्, बरु त्यो अवस्थाबाट विस्तारै आफूलाई सम्हाल्न सफल बनिन् । ‘कहिल्यै एक्लै बस्ने बानी नपरेको मलाई अहिले एक्लैमा खुसी मिलेको छ । सबै भन्दा ठूलो मलाई मानसिक शान्ति मिलेको छ । डिभोर्सपछि पनि करिअर अघि बढाउन सफल भएकी छु, परिपक्व र कामकाजी महिला भएर होला, मलाई त्यति गाह्रो भएन’– ४० वर्षीया सुब्बाको भनाइ छ ।

छोराको मानसिक स्वास्थ्यको ख्याल गर्दै उसको पालनपोषणको जिम्मेवारी पूर्वपति र म दुवैले मिलेर गर्ने अदालतको निर्णयअनुसार अघि बढेको छु । डिभोर्स दिँदा महिलाले कानुनले दिएको अधिकार भने लिनुपर्छ । मैले पनि डिभोर्स दिँदा आफ्ना लागि केही नलिए पनि बच्चाको भविष्य भने सुरक्षित गराइदिएकी छु– उनले थपिन् ।

यसरी पारपाचुके गर्ने महिलामा सुब्बा मात्र होइन, जनगणना २०७८ को तथ्यांकअनुसार उनी जस्ता २१ हजार २ सय ८७ जना छन् । ७ दशकको अवधिमा यो संख्या निकै वृद्धि भएको छ । २०१८ सालमा पारपाचुके गर्ने महिलाको संख्या ०.३ प्रतिशत रहेकामा यो संख्या २०५८ को जनगणनासम्म आइपुग्दा ०.७ प्रतिशत पुगेको थियो भने २०७८ सम्म आइपुग्दा पनि यो ०.७ प्रतिशतमै कायम छ । यसले पनि महिलाहरू बिस्तारै शिक्षित, सचेत हँुदै गएर आर्थिकरूपमा सक्षम र आत्मनिर्भर भएपछि पारिवारिक बेमेल र हिंसालाई अस्वीकार गर्दै आफ्नै हिसाबले बाँच्न चाहेको स्पष्ट हुन्छ ।

एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापा

एकल महिलालाई नीतिगत तहमा पुर्‍याउन आवश्यक

कुल १४ प्रतिशत एकल महिलामध्ये विधवा संख्या १२ प्रतिशत हुनु आफैंमा चिन्ता र अनुसन्धानको विषय हो । किन यति धेरै महिला विधवा भएका छन् त ? यसको एउटै कारण हो– छोरीहरूको सानै उमेरमा विवाह हुनु ।

छोरीहरूलाई परिवारले नै सानै उमेरमा विवाह गर्ने पुरानो चलन, जोखिमपूर्ण काम गर्नुपर्दा पुरुषले जीवनै गुमाउनुपर्ने अवस्था, श्रीमान् वैदेशिक रोजागारीमा जाँदा ज्यान गुमाउनुपरेका कारण तथा पुरुषको भन्दा महिलाको औसत आयु बढी भएका कारण धेरै महिला विधवा हुनुपरेको मानव अधिकारका लागि एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापा बताउँछिन् । द्वन्द्व कालमा धेरै पुरुषले ज्यान गुमाएका कारण पनि विधवा संख्या धेरै हुन गएको विभिन्न अध्ययनले देखाएका छन् । तीन सन्तानकी एकल आमा थापाका पति नेपाली सेनाका चिकित्सक थिए । उनले इराकमा शान्ति सेनामा सहभागी हुने क्रममा ज्यान गुमाउनुपरेको थियो । अधिकांश विधवा आर्थिक, सामाजिक र मानसिकरूपमै पीडित बनेका उनको अनुभव छ ।

मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष कविता पाँडे

विधवा कमजोरी होइन

मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष कविता पाँडे हुनेखाने उमेरमै विधवा भइन् । उनका पति २०५४ सालमा बिते । त्यसबखत उनी २२÷२३ वर्षकी युवती थिइन् । पतिको मृत्युपछि उनीसँग २ वर्षीय अबोध बालकको सम्पूर्ण लालनपालनको जिम्मेवारी पनि थपियो । त्यही कठिन अवस्थामा उनलाई उनका बुबाले दिएको एउटा ढाडसले विधवा भएको कमजोरीलाई शक्तिमा बदलेको थियो ।

‘२३ वर्षकी युवती भए पनि पुनः विवाह गर्नुलाई समाजले राम्रो नजरले हेर्दैनथ्यो । काखमा दूधे बालक लिएर म रुँदै बसेको अवस्था थियो’, ५२ वर्षीय कविताले सुनाइन्– मेरो बुबाले भन्नुभएको एउटा भनाइले मलाई हिम्मत दियो । उहाँले ‘तिमी कमजोर भएर रोएर बस्यौ भने तिमीलाई सबैले कमजोर ठान्छन् । यस कारण छोरी तिम्रो छोराका लागि भए पनि तिमीले विधवालाई शक्तिमा बदल्नुपर्छ’ भन्नुभएको थियो । त्यसपछि मैले सबै बिर्सेर विधवालाई आफ्नो शक्ति बनाएँ । थप शिक्षा हासिल गर्नतर्फ लागेँ । शिक्षित हुँदै गएँ, आर्थिकरूपले पनि सक्षम भएँ ।

पाँडेको अनुभवमा खुसी आफैँले ल्याउनुपर्छ । आफू मात्र नभएर वरिपरिकालाई पनि खुसी हुने वातावरण बनाउन लाग्नुपर्छ । ‘सानो छोरो अहिले २९ वर्षको भएको छ । विवाहित छ । तर मैले छोरोलाई दिएको संस्कारले मेरो घर स्वर्ग बनेको छ’, उनले सुझाइन्– छोरी विधवा भए भन्दैमा उसलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ । जन्म दिने आमा र सासूआमाको बलियो साथ मलाई थियो । म आज एक सफल र आर्थिकरूपमा सक्षम महिला बनेको छु । पहिले मैले हात थामेर हिँडाएको छोरो आज मेरो लौरो बनेको छ । यही संस्कार दिनुपर्छ सन्तानलाई । एकललाई कमजोरी होइन, तागत बनाएर अघि बढ्नुपर्छ ।

एकल महिला सुरक्षा कोषलाई सक्रिय बनाउनुपर्छ

अध्यक्ष पाँडेको अब अगाडिको एउटै उद्देश्य छ– एकल महिलाको नाममा स्थापना गरिएको सुरक्षा कोष आफू अध्यक्ष भएकै बेला सक्रिय बनोस् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला सुरक्षा कोषको ब्यवस्था गरेको छ तर देश संघीयतामा प्रवेश गरेसँगै यो कोष निष्क्रिय बनेको उनकोे गुनासो छ । ‘सरकारले व्यवस्था गरेको एकल महिला सुरक्षा कोष सक्रिय हुँदा कम्तीमा महिलाले सहज कर्जामा ऋण लिएर साना उद्योग गर्न सक्थे, अहिले स्थानीय सरकारको मातहतमा रहेको यो प्रावधान झण्डै निष्क्रिय छ । राज्यले यो कोषलाई पुनः सक्रिय बनाउनुपर्छ’– पाँडेको सुझाव छ ।

यो पनि पढ्नुहोस्

त्यो युद्धमा मरें, यो युद्धमा बाँचें

पाँडेका अनुसार विधवाको शैक्षिक स्तर निकै न्यून छ र  स्वास्थ्यमा पनि पहुँच कम छ । त्यही कारणले अबको नीतिमा राज्यले एकल महिला र विशेषगरी विधवाका लागि शैक्षिक र स्वास्थ्यको स्तर उकास्न जोड दिनुपर्छ । ‘एकल महिलामा विधवाको संख्या धेरै हुनुको मुख्य कारण बालविवाह, वैदेशिक रोजगारी, जोखिमपूर्ण कार्य रहेको छ । औसत आयुमा पुरुष भन्दा महिला चार वर्षले बढी बाँच्ने भएकाले पनि विधवाको संख्या अधिक भएको हो । राज्यले विधवाका लागि नीतिगत परिवर्तन गर्न आवश्यक छ’– उनको सुझाव छ । 

उनी कार्यरत संस्थासँग हाल २ लाख विधवा जोडिएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार १० वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला छन् । जसमध्ये विधुर २.२ प्रतिशत मात्र छन् भने विधवाको संख्या ६.६ प्रतिशत छ । त्यसो त, वैवाहिक हिसाबले ३५ बर्ष माथिका अविवाहित पुरुषको संख्या ९९ हजार २१० छ, जून ०.९ प्रतिशत हो । यसैगरी, ३५ बर्ष माथिका अविवाहित महिलाको संख्या ९० हजार ७०३ छ, जून ०.७ प्रतिशत हो ।

विवाह नगरी एकल जीवन बिताउनेमा निरौला मात्र होइनन्, नेपालमा ९० हजार ७ सय ३ अविवाहित महिला छन् ।

विवाहको उमेरका हिसाबले ८३ प्रतिशत महिलाले १५ देखि २४ वर्षबिच विवाह गरेका तथ्यांकले देखाएको छ । यसैगरी २३ प्रतिशत विधवा महिलाको विवाह १५ वर्ष भन्दा कम उमेरमा भएको देखिएको छ ।

विगत ७ दशकमा विधवा संख्यामा उतारचढाव देखिन्छ । २०१८ सालमा १४.३ प्रतिशत विधवा थिए भने २०४८ मा यो संख्या ७.२ प्रतिशतमा झरेको थियो ।  २०६८मा यो संख्या झन् घटेर ४.६ प्रतिशतमा आइपुगेको थियो तर २०७८ सम्म आइपुग्दा भने पुनः बढेर ६.६ प्रतिशत पुगेको छ ।

क्रियाशील उमेरमै विधवा हुनुपर्दा एकातिर मानसिक तनाव सहनुपर्ने र अर्काेतिर आर्थिकरूपमा सक्षम बन्न नसकको थापाको धारणा छ । ‘तर हालको अवस्था केही बदलिएको छ । १४६ विधवा महिला राजनीतिमा आउनुभएको छ । यो राम्रो सुरुवात हो’– उनी भन्छिन् ।

त्यसो त, अझै पनि विधवा महिलाको निरक्षरता दर ८२ प्रतिशत छ । यो निकै चिन्ताजनक अवस्था हो । यस कारण अझै पनि बालविवाह अन्त्यका लागि पैरवी र सचेतना कार्यक्रम आवश्यक भएको थापाको सुझाव छ । यसरी तथ्यांक हेर्दा एकल महिलाको शैक्षिक स्तर पनि फरक छ । पारपाचुके र अविवाहितको सवालमा शैक्षिक स्तर राम्रो छ भने विधवाको हकमा निरक्षरता बढी छ ।

विधवाको साक्षरता २०५८ मा ६.९ प्रतिशत थियो भने २०६८ मा ११ प्रतिशत र २०७८ मा १८.९ प्रतिशतमा मात्र सीमित छ । २०५८ मा २३.१ प्रतिशत साक्षर महिलाले मात्र पारपाचुके गरेका थिए भने २०६८ मा आइपुग्दा ४४.६ प्रतिशत साक्षर महिलाले पारपाचुके गरेका थिए । २०७८ को जनगणनासम्म आइपुग्दा ६८.९ प्रतिशत साक्षर महिलाले पारपाचुके गरेका तथ्यांक छ ।

अधिवक्ता मिरा ढुंगाना

धेरैजसो सम्बन्ध विच्छेद हिंसाकै कारण हुन्छ : अधिवक्ता मिरा ढुंगाना

अदालतको ढोकासम्म आउने सम्बन्ध विच्छेदका धेरै मुद्दा घरेलु हिंसाकै कारण हुने गरेको अधिवक्ता मिरा ढुंगानाको अनुभव छ । घरमा महिलामाथि थरिथरिका मानसिक तनावसँगै विस्तारै भौतिक हिंसामा परिणत हुने गरेको उनले जनाइन् । ‘हिंसा, पुरुषको अन्यसँग अनैतिक सम्बन्ध भएका कारण महिलाले सम्बन्ध विच्छेद मागेको देखिन्छ’– अधिवक्ता ढुंगाना भन्छिन् । वैवाहिक हिंसा (मेरिटल रेप), दाइजोलगायतका कारणले पनि महिलाले हिंसा खेप्नुपरेका केस धेरै भएका उनले बताइन् ।

‘पारपाचुके दिनेबेला पुरुषले महिलालाई कानुनअनुसारको सम्पत्ति दिनसमेत मान्दैनन् । यसबाट महिलाले धेरै आर्थिक, सामाजिक र मानसिक तनावबाट गुज्रिनुपरेको छ । पछिलो समय महिलाहरू शिक्षित हुँदै गएपछि सचेत बन्दै गएका पाइन्छ’– उनको भनाइ छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीका अनुसार विगत केही दशकदेखि महिलाहरू साक्षर हुँदै जाँदा आत्मनिर्भर हुँदै गएका र यसले उनीहरूलाई आत्मविश्वासी बनाउँदै गएको छ । ‘आर्थिकरूपमा सक्षम भएपछि कोही पनि दबिएर वा हेपिएर बस्न रुचाउँदैन । आफ्नो आत्मसम्मान अवश्य पनि खोज्ने नै भए, आर्थिकरूपमा सक्षम भएपछि आफ्नो जीवन धान्न सक्ने हुन्छन् । यस कारण पनि शिक्षित महिलामा सम्बन्ध विच्छेद बढेको हो’– उपप्रमुख रेग्मीले भने ।

तर समग्रमा एकल महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन निकै आवश्यक भएको बताउँदै उनी सुझाउँछन् कि यसका लािग राज्यले अबको नीतिमा एकल महिलाका लागि अनलाइन ब्यापार, सिप विकास, बजार सञ्चालन जस्ता विषयमा जोड दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

बारा, योमरी बेचेरै करोडपति

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक एवं अनुसन्धानकर्ता ढुण्डीराज लामिछानेका अनुसार विधवा महिलाको साक्षरता प्रतिशत करिब १९ छ । महिला साक्षरताको राष्ट्रिय औसत ६७.१ प्रतिशतको तुलनामा यो निकै कम हो । ‘शिक्षित महिलामा आर्थिक अवस्था राम्रो हुँदै जाँदा परनिर्भरता घट्दै गयो । यसले महिलामा हिंसा र दबाब सहने क्षमता अवश्य नै कम हुन्छ, यसकारण महिलाहरू मानसिक तनाव भन्दा पनि एक्लै बस्नुमा खुसी खोज्छन् । दबाबबिनाको जीवन अवश्य पनि सुखमय हुन्छ’– लामिछानेको धारणा छ ।

यसरी विवाह नगरी एकल जीवन बिताउनेमा निरौला मात्र होइनन्, नेपालमा ९० हजार ७ सय ३ अविवाहित महिला छन् । र, यो संख्या ६ दशकको दौरान दोब्बरले बढेको छ ।

प्रदेशगतरूपमा हेर्दा २०७८ को जनगणनाको तथ्यांकअनुसार सबै भन्दा बढी एकल महिला गण्डकी प्रदेशमा छन् । यस प्रदेशमा १०.५ प्रतिशत एकल महिला छन् भने सबै भन्दा कम मधेस प्रदेशमा छन् । यस प्रदेशमा कुल ५.९ प्रतिशत मात्र एकल महिला छन् । यसैगरी कर्णाली प्रदेशमा ६.८ प्रतिशत एकल महिला छन् भने लुम्बिनीमा ७.८ प्रतिशत, सुदूरपश्चिममा ७.९ प्रतिशत, वाग्मतीमा ८.५ प्रतिशत र कोसी प्रदेशमा ९.३ प्रतिशत छन् ।

एकल महिलाको समग्र साक्षरता हेर्दा २०५८ सालमा ६.९ प्रतिशत रहेकामा २०६८ मा ११ प्रतिशत पुगेको छ भने २०७८ मा यो १८.९ प्रतिशत पुगेको छ । यसैगरी पारपाचुकेको साक्षरता अवस्था २०५८ मा २३.१ प्रतिशत, २०६८ मा ४४.६ र २०७८ मा आइपुग्दा यो अवस्थामा निकै सुधार भएर ६९.९ प्रतिशत पुगेको छ । यसैगरी अविवाहित एकल महिलाको साक्षरता प्रतिशत २०५८ मा २३.४ प्रतिशत र २०६८ मा ४०.९ प्रतिशत रहेकामा २०७८ मा आइपुग्दा यो संख्या ह्वात्तै वृद्धि भएर ५६.५ प्रतिशत पुगेको छ । अर्थात् करिअर बनाउने दौडमा र आर्थिकरूपमा सक्षम हुँदै गर्दा धेरै महिला अविवाहित रहेका देखिन्छ ।

स्रोत : केन्द्रिय तथ्याक कार्यालय

के एकल महिला नीति आवश्यक छ ?

सार्क देशको तुलनात्मक अध्ययनले पनि नेपालमा एकल महिला बढी रहेको पृष्ठभूमिमा लामिछाने नेपालमा एकल महिलालाई हेर्ने नीतिमै परिवर्तन गर्नुपर्ने सुझाव दिन्छन् । ‘अब सरकारको समाजिक सुरक्षा भत्तााको नीतिले मात्र एकल महिलाको ब्यवस्थापन धान्न सक्दैन, अब राज्यले एकल महिलाका लागि सिप सिकाउने, साना तथा लघु उद्यमका लागि सहुलियत कर्जाको ऋण ब्यवस्था गर्नु आवश्यक छ’– उनी थप्छन् ।

उनको थप भनाइ छ– एकल महिलालाई थप दक्ष र सक्षम बनाउन स्रोत र साधनमा पहुँच पुर्‍याउन राज्यले नीतिगत ब्यवस्था गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि एकल महिलाका लागि राज्यले सिप विकास, बजार सञ्जाल, अनलाइन ब्यापारलगायतमा जोड दिएको पाइन्छ । यसैगरी एकल महिला र विधवाका लागि व्यावसायिक नियमहरू बुझ्न र आफ्ना उद्यमहरूको संरक्षण गर्न कानुनी सहायता उपलब्ध गराउनुपर्ने नीति राज्यले लिनुपर्ने सुझाव पनि लामिछानेको छ ।

प्रकाशित: १६ माघ २०८१ १८:२१ बुधबार

#Grahak Bises