जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। धनुषाको लक्ष्मिनिया गाउँपालिका-१ खोजवा टोल बस्ने ४० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको हो।
भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक महाशाखाका सवारी चालक रहेका यादव शुक्रबार बिहान घरबाट कार्यालय आउने क्रममा प्रवेशद्वारा मै विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको मोटरसाइकलले ठक्कर दिएको थियो।
यादव सवार ज१ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २–०२–००४प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।
उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियाका मोटरसाइकल चालक १६ वर्षीय अभिषेककुमार यादव र मोटरसाइकल पछाडि सवार रहेका सोही ठाउँका १६ वर्षीय जसमाद नदाफलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: ११ माघ २०८१ १९:२१ शुक्रबार