समाज

अस्ट्रेलिया उड्न काठमाडौं आएका निश्चलको सवारी दुर्घटनामा मृत्यु, श्रीमती पूजाको उपचार जारी

भक्तपुरको सानो ठिमीमा चार दिन अघि भएको स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । सोही दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती पूजा राजभण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अध्ययनको सिलसिलामा अस्ट्रेलियमा बसोबास गर्ने उनीहरु केही साताअघि बिदा मनाउन नेपाल आएका थिए । आगामी साता अस्ट्रेलिया फर्कने तयारीमा रहेका निश्चल र पूजा आवश्यक सामान किनमेल गरी सानो ठिमीमा रहेको घर फर्कने क्रममा स्कुटर दुर्घटनामा परेका हुन् । भक्तपुर प्रहरीका अनुसार, बाटो काट्दै गरेको कुकुरलाई बचाउने क्रममा स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

निश्चल भद्रपुर नगरपालिकाको पूर्वउपमेयर एवं नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य, झापा सह-इन्चार्ज चन्द्रा श्रेष्ठ र दुर्गा राजभण्डारीका एक मात्र छोरा हुन् । 

प्रकाशित: १९ पुस २०८१ १३:४६ शुक्रबार

#निश्चल राजभण्डारी #स्कुटर दुर्घटना