समाज

सीमाविद् श्रेष्ठलाई 'रेमण्ड माइलफस्की अवार्ड'

बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ।

दक्षिण एसियाको पहाडी, विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गरेको भन्दै श्रेष्ठलाई सो अवार्ड दिइएको हो।

सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा दोस्रो जीवनचर्या सुरु गरेका थिए। सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनर्प्राप्तिका कानूनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले सीमा अध्ययनमा व्यापक मुद्दाहरूप्रति आफ्नो सर्वेक्षण पृष्ठभूमि लागू गर्न, सिमाङ्कनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन यस विषयमा १४ वटा पुस्तकहरू प्रकाशित गरे।

सिमानावालाले राष्ट्रको सीमा रक्षकको रूपमा काम गर्दछ। श्रेष्ठ सीमा रेखा, सीमा स्तम्भ र सीमा चिन्हहरूमा आफ्नो आँखा पुर्‍याउने गर्छन्। उनले आफ्नो देशको राष्ट्रिय सीमाको सुरक्षाका लागि तीन दशकभन्दा बढी समयदेखि सीमा रक्षक, सीमा सूचनाकर्ता, सीमा संरक्षक, भौगोलिक सीमाप्रति दृष्टि पुर्‍याउने व्यक्तिका रूपमा विभिन्न गतिविधि र कर्तव्यहरू निर्वाह गर्दै आएका छन्। त्यसैले उनलाई द बोर्डर म्यान अफ नेपाल भनिएको हो। 

पुरस्कार प्रदान गरिएको बारे आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले भनेका छन्– ‘बुद्धि नारायण श्रेष्ठले आफ्नो देशप्रति समर्पित गर्ने चाहनाका साथसाथै शान्ति र स्थिरता ल्याउनका लागि सीमा क्षेत्रमा आफूलाई समर्पित गर्न रोजेका छन्। उनले नेपाल र सीमा पारसीमा निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् र हामी उनलाई माइलफस्की अवार्डले मान्यता दिन पाउँदा गर्व गर्छौं।’

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमा पार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ। माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइल फस्कीको सम्पत्तिबाट प्राप्त वसीयतबाट सम्भव भएको हो, जो आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक रहेका थिए। पुरस्कारको राशी ७४५ पाउण्ड स्टर्लिङ रहेको छ।

प्रकाशित: ८ पुस २०८१ १४:३५ सोमबार

#Buddhi Narayan Shrestha #सीमाविद् श्रेष्ठ