समाज

आकर्षक तलबको प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धि बहादुर बस्याललाई नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्ने बहानामा एक जना पीडितबाट २ लाख रुपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै अर्को पीडितबाट एक लाख ९० हजार रुपैयाँ लिएको पाइएको छ। उनीहरू ठगीपछि सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो।

प्रहरीले ज्वालारामलाई काठमाडौँ बागबजारबाट र बुद्धि बहादुरलाई सामाखुशीबाट पक्राउ गरेको हो। प्रहरीले दुवै जनालाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ।  

प्रकाशित: ५ पुस २०८१ १३:२८ शुक्रबार

#australia #Dubai #NagarikNews #Nepalpoilice