समाज

महाङ्काल मन्दिरको सत्तल परानै शैलीमा पुनः निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसरमा चौघेरा सत्तलको पुनःनिर्माण सुरू गरेको छ।

सोमबार महानगरका उपप्रमुख सुनिता डङ्गोलले जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन्।

“काठमाडौंका सम्पदाको प्राचीनता र मौलिकता तस्बिरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौंं,” त्यस अवसरमा उपप्रमुख डङ्गोलले भनिन्, “प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ। व्यक्तिलाई समस्या परे, भगवान्का शरणमा जाने गरिन्छ। भगवान् स्थलमा उतारचढाव नहोस्।” समयमा कार्य सम्पन्न गर्न आग्रह गर्दै उनले भनिन्।

योजनाको लागतअनुमान १० करोड १० लाख ७९ हजार दुई सय ७९ थियो। सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड पाँच लाख १० हजार छ सय १९ मा निर्माण गर्नेगरी कबोल गर्ने विनायकरएसपिरबोहोरा जेभि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।

खरिद प्रक्रिया र लागतका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भनिन्, “परम्परागत निर्माण सामग्री र शैली पुनःनिर्माणको मुख्य विशेषता हो।”

इञ्जिनियर रवीन्द्र रिजालका अनुसार सत्तल पाँच सय ८३ दशमलव ८१ वर्गमिटर क्षेत्रफलको हुनेछ। हरेक तलाको क्षेत्रफल एक सय ९४ दशमलव ४७ वर्गमिटर छ। यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन्।

पहिलो तलामा तीन वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ। यस माथि बुइँगल हुनेछ। रिजालका अनुसार विसं १९९७ मा खिचिएको तस्बिरका आधारमा पुनःनिर्माण गर्न लागिएको हो।

विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको सत्तलको मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ। पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेशद्वार हुनेछ। सत्तल झिँगटीको छानायुक्त हुनेछ।

सत्तल पुनःनिर्माणका लागि विसं २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो। यसबाट पाँच वटा प्रस्ताव पेस भएका थिए। यीमध्ये चार वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए। निर्माण पक्षलाई गएको असार १९ गते कार्यादेश दिइएको हो। सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म रहेको छ।

मन्दिरका पुजारी दीपक हर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब एक हजार तीन सय पाँच सय वर्ष अगाडि निर्माण भएको हो। मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती सुनाउँदै उनले भने, “तान्त्रिक शाश्वत बज्र र शिवको आकाश मार्गको यात्रासँग मन्दिर स्थापनाको कथा जोडिएको छ। 

प्रकाशित: २४ मंसिर २०८१ २०:०५ सोमबार