समाज

आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ

आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ।

६५ वर्षीया फुल कुमारी देवीको हत्या गरेको अभियोगमा विष्णु गाउँपालिका-६ सिमरा बस्ने ३२ वर्षीय भगलु मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

घरायसी बिवादको क्रममा भगलुले कुटपिट गर्दा फुल कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

कुटपिटबाट गम्भीर घाइते भएकी फुल कुमारीको थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २४ मंसिर २०८१ १९:३८ सोमबार