वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणलाई दक्षिण एशिया र नेपालका लागि गम्भीर चुनौती भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित दक्षिण एशियाली वायु प्रदूषण नियन्त्रण कार्यशालामा बोल्दै उनले वायु प्रदूषणले मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली र अर्थतन्त्रमा प्रत्यक्ष असर पुर्याउने बताए।
उनका अनुसार विशेष गरी दक्षिण एशियामा प्रदूषणका स्तरहरू विश्व स्वास्थ्य सङ्गठनले दिएको सिमाभन्दा १० गुणा बढी छन्। काठमाडौँ उपत्यका जस्ता विश्वभर प्रसिद्ध पर्यटन स्थलहरू पनि वायु प्रदूषणमा शीर्ष स्थानमा पर्ने गरेको कुरा पनि उनले उल्लेख गरे।
उनले वायु प्रदूषणको स्रोत र प्रभावलाई कम गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए। सरकारले यातायात क्षेत्रबाट हुने प्रदूषणलाई कम गर्नका लागि सवारी साधनमा प्रदूषण मापदण्डको पुनरावलोकन गर्दै, विद्युतीय सवारी साधनको प्रर्वद्धन गरिरहेको छ।
यसका साथै, मन्त्री शाहीले सरकारले स्वच्छ उर्जा स्रोतहरूको प्रयोगलाई प्राथमिकता दिएको पनि बताए। नेपालले जलविद्युतमा आधारित ऊर्जा स्रोतको विस्तारमा जोड दिनुका साथै सौर्य उर्जा र बायो ग्याँसको प्रयोगलाई ग्रामीण क्षेत्रहरूमा प्रवर्द्धन गरिरहेको उल्लेख गरेका छन्। मन्त्री शाहीले जलवायु परिवर्तन र वायु प्रदूषणलाई कम गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई पनि जोड दिए।
प्रकाशित: २४ मंसिर २०८१ १३:५३ सोमबार