समाज

कालिकोटका स्थानीयलाई विपद् प्रतिकार्य तालिम

कालिकोटको तिलागुफा नगरपालिकामा स्थानीय समुदायलाई विपद् प्रतिकार्यसम्बन्धी क्षमता विकास तालिम सुरु गरिएको छ।

समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता वृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कालिकोटले बिहीबारदेखि छ दिने तालिमको सुरुवात गरेको हो।

तालिममा स्थानीय युवा, शिक्षक, र हरेक वडाबाट दुई/तीन जनाका दरले २८ जना सहभागी छन्। विपद् प्रतिकार्यका लागि स्थानीयलाई प्रत्यक्ष संलग्न गराउँदै प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली, विवरण सङ्कलन, क्षतिको अनुमान, र डुबानमा परेको व्यक्तिको उद्धारलगायतका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका विपद् विभाग उप-निदेशक राजेन्द्र रोकाहाका अनुसार खानेपानी, सरसफाइ, र विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ। उनले स्थानीय समुदायलाई लक्षित गर्दै तालिमले विपद् न्यूनीकरण र प्रतिकार्यमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्यायले विपद् न्यूनीकरण र प्रतिकार्यका लागि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले भने, विपद्सम्बन्धी समुदायको क्षमता विकास र जागरूकता अभिवृद्धि गर्न तालिम महत्त्वपूर्ण हुने विश्वास लिएको छु।’

नेपाल रेडक्रस सोसाइटी कालिकोटका सभापति बलप्रसाद संज्याले तालिमले तिलागुफामा हुने विभिन्न विपद्लाई सामना गर्न समुदायलाई सक्षम बनाउने बताए। उनले भने, समुदायमा आधारित तालिमले विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा स्थानीयको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नेछ।’

विपद् व्यवस्थापनमा स्थानीयस्तरमा तयार भएका यी सहभागीहरूले भविष्यमा सम्भावित विपद्का प्रभावलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित: २० मंसिर २०८१ १९:१६ बिहीबार