समाज

विवाहपञ्चमीको पाँचौं दिन मटकोर सम्पन्न

जनकपुरधाममा आइतबारदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत आज (बिहीबार) पाँचौं दिन मटकोर कार्यक्रम सम्पन्न गरिएको छ।

रामजानकी विवाहको पूर्वसन्ध्यामा जनकपुरधामको गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो। जानकी मन्दिरबाट साजसज्जासहित सीता–रामको भेषमा बालबालिकालाई सजाएर बाजागाजासहित गंगासागर पुर्‍याई मटकोर विधि सम्पन्न गरिएको थियो।

जानकीको ‘डोला’ लिएर गंगासागर पुगेका श्रद्धालुले माटो खनी सो माटो विवाहका लागि वेदी निर्माण गर्न लगेका छन्। यसै वेदीमा शुक्रबार राति राम–सीताको विवाह गरिनेछ।

मिथिलामा विवाहपूर्व बेहुला–बेहुलीलाई मटकोर गर्ने परम्परा रहेको छ। यही परम्परा अनुसार जानकी मन्दिरका छोटा महन्थ रोशन दासको नेतृत्वमा हजारौं श्रद्धालुले सीता–रामको मटकोर सम्पन्न गरेका हुन्।

मटकोरपछि प्रसादस्वरूप भिजेको चना, चामल र तेल वितरण गरिएको थियो। मटकोरलाई शुद्धीकरणका रूपमा लिने प्रचलन रहेको छ।

महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ सम्पन्न भइसकेको छ। चौथो दिन राम मन्दिर प्राङ्गणमा तिलकोत्सव मनाइएको थियो।

यस अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले मिथिलाका राजा जनकको भूमिका निर्वाह गर्दै राम मन्दिर पुगेका थिए। त्यहाँ भारतको अयोध्याका राजा दशरथको भूमिकामा राम मन्दिरका महन्तसँग सम्धी मिलन गराइएको थियो।

भोलि छैटौं दिन राम–सीताको विवाह कार्यक्रम सम्पन्न हुनेछ। मंसिर २२ गते रामकलेवा गरी अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई बिदाइ गर्दै महोत्सव विधिवत् सम्पन्न हुनेछ।

नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं श्रद्धालु जनकपुरधाममा भेला भएका छन्। श्रद्धालुका लागि बाह्रबिघा मैदानमा पण्डाल बनाइएको छ। जनकपुरधाम अहिले श्रद्धालुहरूको भीडले भरिभराउ छ।

प्रकाशित: २० मंसिर २०८१ १८:५३ बिहीबार