समाज

विवाह पञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री सिंह अयोध्या जाने

विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन्।

भगवान सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि जान लागेको विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिए।

तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंहले बिदाइ गर्नेछन्।मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको उनले बताए।

तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ।

विश्व हिन्दु परिषद् को सक्रियतामा विगतका वर्ष झैँ यस वर्ष पनि सामूहिक विवाहको कार्यक्रम समेत राखिएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ २०:५० शुक्रबार

#janakpurdham #Wedding Panchami #World Hindu Council #Chief Minister Satish Singh