वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिने भएको छ।
महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए।
बुधबार बिहान १० बजेबाट सुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगञ्जका सामुदायिक र निजी विद्यालय, क्याम्पस गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने उनले सुनाए।
एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वल्र्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उनले जनाए।
यो तालिम सफल रुपमा सम्पन्न भए वीरगञ्जको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने हुँदा आम नगरवासीलाई कार्यक्रम सफल पार्न पनि उनले आग्रह गरे।
वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल-भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश सेट्टीलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए।
आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए।
भारतबाट आएका प्रशिक्षक सेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्सल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन्। उनले अमिताव बच्चन, सलमान खान, अजय देवगण, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टण्डन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन्।
ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैदले व्यक्त गरे। पत्रकार सम्मेलानमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुशी लागेको बताए।
बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु खटाइएको छ।
प्रकाशित: २७ कार्तिक २०८१ १५:३९ मंगलबार