समाज

छठ पर्वमा जनकपुरमा व्रतालुको भीड

<br>

सूर्यको आराधना, उपासना र पूजा गरी बिहीबार छठ पर्व मनाइँदै छ।आज अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व मनाइयो।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायत जलाशय किनारमा बनाइएका छठ घाटमा पूजा सामग्री सहित भक्तजन पुगेका थिए। पूजा सामग्रीहरूले पोखरी किनार भरिएका थिए। छठ घाट विशेष रूपमा सजाइएको छ। श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ।

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यदेवलाई चढाउँछन्।भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ। व्रतालुहरू छठको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने बताउँछन् ।नरिवल, केरा, ठेकुवा लगायतका फलफूल र मिष्टान्नद्वारा सूर्यदेवको पूजा गरिने बताए। मनमा लिएको संकल्प पूरा गर्न र परिवारको कल्याण, रोगको निवारणका लागि सूर्यदेवको पूजा गर्ने गरेको उनीहरूको भनाइ छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ। परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ। 

प्रकाशित: २२ कार्तिक २०८१ १८:५९ बिहीबार

#janakpur #chhath festival in madhesh #Chhath Festival