समाज

आपसी सहयोग र सद्भावकाबीच दसैँ मनाऔँः मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै ‘हाम्रो संस्कृति, हाम्रो गौरव’ का रूपमा रहेको नेपालीहरूको महान् चाड दसैँले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल काम गर्न हौसला र सकारात्मक ऊर्जा प्रदान गर्न दुर्गा भवानीबाट आशीर्वाद प्राप्त होस् भनी कामना गरेका छन्।

“दसैँका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वः स्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व अझ बढी छ। हाम्रो मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान गरिरहेका छन्”, शुभकामना सन्देशमा भनिएको छ।

यस्तै उनले चाडपर्व नजिकिँदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावसँगै दसैँ मनाउन आग्रह गरेका छन्। “कोसी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन आग्रह गर्दछु। विपद्लाई साहसमा बदल्न सबैको सहकार्य र हातेमालो जरुरी छ”, उनले भनेका छन्। 

प्रकाशित: २६ आश्विन २०८१ ०९:२३ शनिबार

#Chief Minister Hikmat Kumar Karki # Koshi Prades #"Our Culture Our Pride"