समाज

नेफेजको अध्यक्षमा कार्की निर्वाचित

नेपाल वातावरण पत्रकार समूह (नेफेज) को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन्।

नेफेजको शक्रबार भएको ३९औं साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन्।  

कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा. रवि शर्मा अर्यालले जानकारी दिए।

यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे।

महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला) मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भए।

दुई सदस्य (पुरुष) का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भएका छन्। बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताए। सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गरे।

कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमका नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०८१ १८:१७ शुक्रबार