समाज

विपद् जोखिम न्यूनीकरण गर्न नगरमा स्वयंसेवक ब्यूरो गठन

जुम्लाको चन्दननाथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण गर्न  स्वयंसेवक ब्युरो गठन गरेको छ। स्वयंसेवक ब्युरोमा ४० युवायुवती समेटिएका छन्। पछिल्लो समयमा विपद्का घटना बढ्न थालेपछि सचेतना फैलाउनेदेखि खोज, उद्धारका कार्यमा परिचालन हुने गरेर स्वयंसेवक ब्युरो गठन गरिएको विपद् शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए।

उनका अनुसार ब्युरोअर्न्तगत ७ कार्यदल बनाइएको छ। उनीहरूले विपद् जोखिम न्यूनिकरणका लागि गर्नुपर्ने सचेतना फैलाउनेदेखि खोज, उद्धार र क्षतिको आकलन गर्नेछन्।

यता चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतका अनुसार प्राथमिक उपचार, स्वास्थ्य तथा सरसफाइ, खोज तथा उद्धार, क्षति आकलन तथा आवश्यकता पहिचान, पूर्वसूचना प्रणाली, राहत व्यवस्थापन तथा पुन: स्थापन र लैंगिक समानता तथा संरक्षण कार्यदल बनाइएको छ। जसमा नगरपालिका १ देखि १० वटै वडाका युवायुवतीहरू सहभागिता गरिएको छ।

आगामी दिनमा कार्यदललाई क्षमता विकास सीप दिएर नगर क्षेत्रमा कुनै पनि विपद्का गतिविधिदेखि सामाजिक सेवाका लागि खटाइनेछ। नगरपालिकाले नगर स्वयंसेवक ब्युरो कार्यविधि तयार पारेको छ। सोहीअनुसार कार्यक्षेत्रमा खटाइने र विपद् प्रतिकार्य योजना बनाएर उनीहरुलाई परिचालन गर्ने तयारी भइरहेको नगरप्रमुख कठायत बताउँछन्।

नगर क्षेत्रमा भूकम्प, बाढीपहिरो, आगलागी,चट्याङ लगायतका विपद्बाट जोगिन सचेतना फैलाउन र खोज तथा उद्धारमा ब्युरोको भरपुर प्रयोग गरिनेछ।

यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना प्रमुख ईश्वरा सुवेदीले विपद् व्यवस्थापनमा चाहिने जनशक्ति निर्माण भइसकेको बताइन्।

उनका अनुसार स्थानीय सरकारसँग पर्याप्त सचेतनाका साथै वित्तीय र भौतिक स्रोतको कमी रहेको अवस्थामा स्वयंसेवकहरूको भूमिका महत्त्वपूर्ण रहनेछ।स्वयंसेवकका मार्गदर्शक मानवता, प्रतिवद्धता, स्वामित्व, समावेशिता, ऐक्यबद्धता, निश्पक्षता, तथष्टता रहेका छन्।

बुधबार गठित ब्युरोलाई नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गर्ने छ। रेडक्रसले स्वयंसेवक ब्युरोलाई झोला र ज्याकेट दिइएको छ। चन्दननाथ नगरपालिका उपप्रमुख रामुदेवी खड्काले नगर क्षेत्रमा आपतकालीन कुनै पनि समस्या सम्बाेधनका लागि ब्युरोले साथ दिने बताइन्। उनले भनिन्, ‘विपद् रोक्न पूर्वतयारी स्वरूप ब्युरोको निर्माण गरिएको हो। अब सचेतनादेखि क्षमताको मूल्यांकन उसैले गर्नेछ।’

यस्तै नेपाल रेडक्रस सोसाइटीका जुम्ला सभापति लोकदर्शन श्रेष्ठले विपद् तथा उद्धारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्न ब्युरो सक्रिय रहने विश्वास व्यक्त गरे। विपद् आएको बेला स्थानीय साधनस्रोतहरूको व्यवस्थापन गरेर ब्युरोको परिचालन प्रभावकारी ढंगले हुनेछ।

उनले भने, ‘नगरले यसलाई सक्षम जनशक्तिका रूपमा विकास गर्न जरुरी छ।जसमा रेडक्रसको निरन्तर सधैं साथसहयोग रहनेछ।’

प्रकाशित: १७ आश्विन २०८१ ०९:२७ बिहीबार