समाज

कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि शनिबार बिहान ढोका खोलिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए।

‘जलाशय भरिन अझै एकदुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो’, प्रजिअ चिलुवालले भने। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए।

कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। कुलेखानीको क्षमता एक हजार पाँच सय ३० मिटर छ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’ मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो। –रासस

प्रकाशित: १२ आश्विन २०८१ ०७:३३ शनिबार