समाज

कक्षाकोठामै विद्यार्थी बेहोस हुन थालेपछि बिहानी सत्रमा विद्यालय सञ्‍चालन गर्न निर्देशन

पर्साको पोखरिया नगरपालिका- ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालयका विद्यार्थी उपचार गर्दै । तस्बिर: विमला गुप्ता/नागरिक

अध्यधिक गर्मी भएर धमाधम विद्यार्थी बेहोस हुन थालेपछि रौतहटका विभिन्न पालिकाले शिक्षण सिकाइको समय तत्काल परिवर्तन गर्न निर्देशन दिएका छन् । असोजमा पनि ४३ देखि ४५ डिग्रीसेल्सियससम्म तापक्रम पुगेपछि विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेका छन् ।

बालबालिका बेहोस हुने, अत्यधिक चर्को गर्मीले कक्षाकोठामा बस्नै नसक्ने र समूहमा बसेर केही गर्नै नसक्ने परिस्थिति भएपछि रौतहटको गौर, गरुडा, गढीमाई नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिकाले असोज १६ गतेसम्मका लागि विद्यालयको पठनपाठनलाई बिहानी सत्रमा संचालन गर्न निर्देशन दिएका हुन् । असोज १७ गतेदेखि दशैंको विदा हुने भएकोले अधिकांश पालिकाले असोज १६ गतेसम्म बिहान ६ः३० बजेदेखि कक्षा संचालन गर्न भनेका हुन् । गरुडा नगरपालिकाले भने अर्को सूचना जारी नभएसम्म बिहानी सत्रमा कक्षा संचालन गर्न निर्देशन जारी गरेको छ ।  

रौतहटको राजदेवी नगरपालिकामा एकै छिनमा कैयौँ विद्यार्थी बहोस भएका थिए । तीन जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भएको छ ।  

रौतहटका विभिन्न विद्यालयमा असोज लागेदेखि नै विद्यार्थीहरु बेहोस हुन थालेका हुन् । असोज १ देखि असोज ७ गतेसम्म ४० डिग्रीसेल्सियसको हाराहारीमा तापक्रम मापन भएको छ । सोमवार दिउँसो पनि गौरको तापक्रम ४५ डिग्रीसेल्सियस पुगेको छ ।  

अत्यधिक चर्को घामले घरबाहिर हिँडडुल गर्न तथा आवतजावत गर्न समस्या भएपछि दैनिक जनजीवन पनि प्रभावित भएको छ । यातायात, शिक्षा, व्यापार, व्यवसाय र अन्य क्षेत्रमा पनि चर्को घामको प्रभाव परेको छ । सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

प्रकाशित: ७ आश्विन २०८१ १७:२८ सोमबार

#Rautahat News