समाज

दुई हिमताल फुटेपछि बाढी, गाउँ नै बगरमा परिणत

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। शुक्रबार थामे खोलामा आएको बाढीले २० भन्दा बढी घर, होटल, स्वास्थ्यचौकी, र विद्यालयमा क्षति पुर्‍याएको हो।

शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियाे।

अवलोकनका क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको थियो भने अन्य २ वटा हिमताल पनि जोखिममा रहेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले यसबारे जानकारी दिइन्।

बाढीले गर्दा सिंगो गाउँ नै बगरमा परिणत भएको छ भने ९३ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढीको कारणले सोलुखुम्बुको नाम्चेभन्दा माथिको सगरमाथा जाने पर्यटकीय पदमार्गसमेत अवरुद्ध भएको छ।

फाक्दिङदेखि नाम्चेबीचको पदमार्ग नदीले कटान गर्दा आवतजावत ठप्प भएको छ। यसले गर्दा खुम्बु क्षेत्रका अन्य पदमार्गहरू पनि अवरुद्ध भएका छन्।

बाढी प्रभावित क्षेत्रमा शनिबार बिहान रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय, प्रदेश, र स्थानीय तहका अधिकारीसहितको टोलीले निरीक्षण गरेको थियो।

राहतस्वरूप प्रभावित परिवारलाई स्थानीय निकायबाट ५० हजार र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको छ। थप राहत र उद्धारका प्रयास जारी छन्।

बाढीले खुम्बुको स्थानीय विद्युत् आयोजनाको ड्याम पनि बगाउँदा विद्युत् आपूर्ति ठप्प भएको छ, जसका कारण सञ्चार सेवा पनि अवरुद्ध भएको छ। बाढीले तल्लो सोलुका क्षेत्रमा समेत कटान गर्दै अन्यत्र क्षति पुर्‍याएको छ।

यसैबीच, हिमताल फुट्नाले भविष्यमा पनि खुम्बु क्षेत्रमा जोखिम रहने भएकाले स्थायी समाधानको लागि तीन तहका सरकारले कार्ययोजना बनाएर वस्ती स्थानान्तरणको योजना अघि बढाउनुपर्ने आवाज उठेको छ।

प्रकाशित: १ भाद्र २०८१ १६:३४ शनिबार