समाज

फर्किएलान् त पहिलेकै अवस्थामा काठमाडौंका नदी

काठमाडाैं उपत्यकामा बग्ने नदीनाला

उपत्यकामा रहेका १९ वटा नदी पहिलेकै अवस्थामा फर्किएलान् त? अर्थात् करिब ५० वर्षअघि झैं नदीमा पानीको बहाब कायम रहला त? अथवा ५० वर्षअघि झैं काठमाडौंका नदी सफा होलान् त? यस विषयमा बहस र छलफल सुरु भएको छ।

सहरी विकास मन्त्रालयले दुई दिनअघि काठमाडौंमा विज्ञहरूलाई बोलाएर उपत्यकाका नदीनालामा पानीको बहाव कसरी बढाउने र नदीनालालाई कसरी सफा राख्ने भन्ने विषयमा छलफल गरेको थियो।

छलफलको प्रारम्भमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदीलाई पुनर्जीवन दिन, फोहोरमैला व्यवस्थापन गर्न तथा काठमाडौं उपत्यकालाई स्वच्छ र सफा कसरी राख्न सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग छलफल गरेका थिए। यसका लागि विकल्पसहित समाधान खोज्न विज्ञहरूसँग राय लिएका थिए।

कार्यक्रममा खानेपानी मन्त्रालयका पूर्वसचिव, खानेपानी विभागका पूर्वमहानिर्देशकलगायत विज्ञहरू सहभागी थिए। ‘उपत्यकाका नदीनालामा पानीको बहाब नबढ्दा दुर्गन्ध फैलिरहेको छ। केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको बहाब बढाउन सकिन्छ कि भन्ने विषयमा मन्त्रालयले सोचिरहेको छ,’ सिंहले भनेका थिए।

कार्यक्रममा मन्त्रालयका सचिव मनिराम गेलालले बागमती नदीको सुन्दरी जलदेखि टेकुसम्म बोरिङ तथा शंखमूलदेखि कुपन्डोलसम्म जम्मा गरेर पानीको बहाब बढाउन सकिने सुझाव राखेका छन्। कार्यक्रममा सहभागी विज्ञहरूले उपत्यकाका नदीमा पानीको बहाब बढाउन अल्पकालीन र मध्यकालीन विकल्प राखेका छन्।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सिँचाइ युनिट प्रमुख निश्चल छतकुलीका अनुसार उपत्यकामा हरेक वर्ष ३६ करोड ५० लाख घन लिटर पानी खेर जाने गर्छ। उक्त पानीलाई विभिन्न तालतलैया, बाँध, पोखरी, कुलो, ढुंगेधारा निर्माण गरी रोक्न सकिन्छ। त्यसरी रोक्न सकिएमा सुक्खायाममा उपत्यकाका नदीनालामा पानीको बहाब बढाउन सकिन्छ।

यसैगरी उपत्यकावरिपरिका वनजंगलमा प्राकृतिक रूपमा पोखरी बनाएर वर्षायाममा खेर जाने पानी रोक्न सकिन्छ। काठमाडौं उत्यकामा कंक्रिट प्रयोग अत्यधिक बढ्दो छ। कंक्रिटका घरहरू थपिँदै छन्। यसबाट काठमाडौंको जग्गाले पानी सोस्न पाएको छैन। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमिनमुनि नपुगी सतहबाटै बगेर जाने गरेको विज्ञहरू बताउँछन्।

विकास समितिका अनुसार सुक्खायाममा सामान्यतः बागमतीमा पानीको बहाव प्रतिसेकेन्ड १५० देखि दुई सय लिटर हुने गर्छ। बागमतीमा पानीको बहाब सबैभन्दा बढी साउन १५ देखि भदौ १५ को अवधिमा र सबैभन्दा कम फागुन १५ देखि चैत १५ सम्म हुने गर्छ। साउन १५ देखि भदौ १५ को बिचमा गौरीघाटमा बागमतीको पानी ११ हजार तीन सय लिटर प्रतिसेकेन्ड बग्ने गर्छ।

१६ वर्षअघि नै सरकारले उपत्यकाका नदीनालाको पानी बहाव क्षेत्र तोकेको थियो। बागमती विकास समितिले २०६५ मंसिर १ गते निकालेको सूचनामा भनिएको थियो। बागमती, विष्णुमती र मनोहराका दायाँबायाँ २०/२० मिटर छाड्नुपर्ने, धोबी खोलाको हकमा धोबीखोला आयोजनाले प्लानिङ गरेको ठाउँमा प्लानिङअनुसारको दुरी, प्लानिङ नभएको ठाउँमा नौनौ मिटर छाड्नुपर्ने, नख्खु खोलाको १२/१२ मिटर, बल्खु, कर्मनासा, कोड्क, साङले तथा महादेव खोलाको १०/१० मिटर, कारखुसी खोलाको ६/६ मिटर, टुकुचा, सामाखुसी तथा अन्य खोलाको ४/४ मिटर छाड्नुपर्ने नियम बनाइयो।

हनुमन्ते खोलाको हकमा हनुमन्ते बग्ने नगरउन्मुख ठाउँमा २०/२० मिटर छाड्नुपर्ने सूचनामा उल्लेख छ तर यो नियम कार्यान्वयन हुन सकेन। न त कार्यान्वयन भएनभएको विषयमा अनुगमन नै भएको छ। अहिले प्रायः नदी किनारावरिपरिको जग्गा अतिक्रमण भइरहेको छ। यसकारण पनि सामान्य वर्षा हुनेबित्तिकै किनारावरिपरिको सडक जलमग्न हुने गरेका छन्। यसको वैज्ञानिक व्यवस्थापन हुन सकेको छैन।

प्रकाशित: १ भाद्र २०८१ ०७:४६ शनिबार

Sahari bikas mantralaya