समाज

भरतपुर महानगरले दियो सिमलताल दुर्घटनामा मृत्यु भएका सुदिपका परिवारलाई दुई लाख

भरतपुर महानगरपालिकाले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेर मृत्यु भएका सुदिप वि.क.का परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

भरतपुर–२२ मदनपोखरी स्थित मृतक वि.क.को घरमा पुगेर (आज) बिहीबार महानगरपालिका प्रमुख रेनु दाहालले परिवारलाई चेक सहित दुई लाख रुपैयाँ नगद प्रदान गरेकी हुन्।

दुखद् समयमा मृतकका परिवारलाई कार्यपालिकाको निर्णय अनुसार रकम हस्तान्तरण गरिएको मेयर दाहालले बताइन्।

असार २८ गते बिहेका लागि फोटो भिडियो खिच्न वीरगन्ज आएको ०३–००६ ख १५१६ नम्बरको एन्जल बसमा चढेर काठमाडौँ जाने समयमा सडक दुर्घटनामा परेर सुदिपको मृत्यु भएको थियो। उनको शव असार ३१ गते विनयी त्रिवेणीमा फेला परेको थियो। २२ वर्षीय सुदिप विवाहित समेत हुन्। उनी माडिका घर भएका विकास परियारसँग काठमाडौँ जाँदै थिए। परियारको शव असार २९ गते गैँडाकोटमा फेला परेको थियो। 

प्रकाशित: ३ श्रावण २०८१ १७:१८ बिहीबार

#Simaltal bus accident #Bharatpur Metropolitan Municipality