समाज

नागढुंगा–नौबिसे सडक बुधबार र बिहीबार राती बन्द हुने

फाइल तस्बिर

त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ।

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।

नौबिसे खोलाको पुलमा काम  गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचनामा भनिएको छ।

साथै यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने रोक लगाइएको छैन।यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभाबी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ।

साथै उक्त समयमा दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरुले वैकल्पिक मार्गका रुपमा धार्के सितापाईला सडक प्रयोग गर्न हुन समेत अनुरोध गरिएको छ।

प्रकाशित: १९ असार २०८१ १७:५६ बुधबार

#Nagadhunga-Naubise road section #District Police Office Dhading