समाज

बिस वर्षपछि विवाह गर्ने किशोरीलाई बिस हजार रूपैयाँ

फाइल तस्वीर

सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रूपैयाँ प्रदान गर्ने भएको छ। नगरपालिकाले एघाराैं नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ। बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ।

“यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम हुने अपेक्षा गरेका छौं”, नगरप्रमुख आतेशकुमार सिंहले भने, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ।”

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई बीस हजार रूपैयाँ नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ। नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरिन्।

प्रकाशित: ११ असार २०८१ १३:२२ मंगलबार

Bodebersine Municipality of Saptari dalit girl Dalit community A joint campaign against child marriage