समाज

मध्यपहाडी राजमार्गको ठाउँ–ठाउँमा पहिरो, सडक अवरुद्ध

लगातारको वर्षाका कारण मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।

मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडकखण्डका ठाउँ–ठाउँमा पहिरो खसेको छ। पहिरोमा परी एउटा मेसिन बोक्ने टेलर पुरिएको स्थानियले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिकाको कालिआप, अक्करेभिर, कुडुले लगायतका स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लले राजमार्गकै सुमनाम भन्ने स्थानमा समेत पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको बताए।

मध्यपहाडी राजमार्गको गोलञ्जोर गाँउपालिका १ कालिआप भन्ने स्थानमा माथिबाट आएको पहिरोसँगैको लेदोले प्र २–०३–००१ ख ७१४४ नम्बरको टेलर पुरिएको पनि उनले बताए।

पहिरोमा पनि भने कुनै मानवीय क्षति नभएको भन्दै उनले राजमार्गसँग जोडिएर खनिएका ग्रामिण सडक व्यवस्थित नहुँदा लेदो आएर राजमार्गमा बस्ने भएकाले सामान्य वर्षामै पनि मध्यपहाडी राजमार्ग अवरुद्ध हुने गरेको बताए।

प्रकाशित: ५ असार २०८१ ०८:३९ बुधबार

#madhyapahadi rajmarga #khurkot #sindhuli #golanjor gaupalika