समाज

भेरीमा ट्र्याक्टर खस्दा दुईजनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ छेपारेनजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्।

आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको हो।

दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट १४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा घाइते तीनजनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ। घाइतेको पहिचान खुल्न सकेको छैन।

ट्र्याक्टर सडकदेखि एक सय ५० मिटर तल भेरी नदीमा खसेको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। –रासस

प्रकाशित: २८ वैशाख २०८१ १४:५९ शुक्रबार

Bheri river tractor falls Two kill District Police Office Rukum West