समाज

बाजुरामा आगलागी, तीन घर जलेर नष्ट

बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्। सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया  क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन्। क्षतिको विवरण सङ्कलन भइरहेको छ। स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।

गत बिहीबार दिउँसो बुढीगङ्गा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर खरानीमा परिणत गरेको थियो। आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र  स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितहरूले लगाएका छन्। 

प्रकाशित: २३ वैशाख २०८१ ०९:१८ आइतबार

खापर गाउँपालिका आगलागी हुँदा तीन घर जले जिल्ला प्रहरी कार्यालय बाजुरा