समाज

बच्चा हेर्न ओमान पुगेकी एक महिलामाथि ३६ दिनसम्म यौनशोषण

बच्चा हेर्ने काम भन्दै ओमान पुर्‍याएको महिलामाथि जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पाल्पाको तिनाउ गाउँपालिका–५ का विष्णुबहादुर राना पक्राउ परेका छन्।

पक्राउ परेका रानाले बच्चा हेर्ने कामका लागि भनेर उपत्यका भित्रकै महिलालाई ओमान पठाई ३६ दिनसम्म यौन शोषणमा लगाएको आरोपमा उनी पक्राउ परेका हुन्।

पीडित महिलालाई ३६ दिनसम्म कोठामै बन्धक बनाएर यौन शोषणमा लगाएको, नमानेमा कुटपिट गर्ने गरेको, खाना र पानी नदिने तथा एसी चिसो र तातो बनाएर शारीरिक यातना समेत दिने गरेको खुल्न आएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको छ।

पीडित महिलाको आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको छ। उनलाई ओमानमा घरमा बच्चा हेर्ने काममा मासिक ८० देखि ९० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएर अभियुक्त रानाले भिजिट भिसामा ओमान पठाएका थिए।

ती पीडित महिला सामान्य लेखपढ मात्रै जानेको हुँदा सहजै राणाको प्रलोभनमा परेकी ब्युरोद्वारा खुल्न आएको छ। ब्युरोका अनुसार ओमानमा राम्रो आम्दानीसहित सेवा सुविधा हुने  प्रलोभन देखाउँदै राणाले ती महिलालाई ओमान पुर्‍याएका थिए। राणाले पीडितलाई गएको भदौ २६ गते काठमाडौँबाट भिजिट भिसामा ओमानको मस्कट पु¥याएका थिए।

पीडित महिला ओमान पुगिसकेपछि राणाका साथीहरूले ती महिलालाई रिसिभ गरेर एजेन्ट अफिसमा लगेका थिए। त्यहाँ लगेर उनको मोबाइल र पासपोर्ट जफत गर्दै अन्य कागजातहरू च्यात्न लगाएको ब्युरोको अनुसन्धानबाट खुलेको छ। त्यहाँ नेपालसहित अन्य देशका महिलाहरूसमेत रहेको बुझिन आएको ब्युरोले जनाएको छ।

पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले साढे दुई लाख रुपैयाँ मागेका थिए। त्यसपछि पीडितका श्रीमानको पहलमा उनीहरूले मागेको रकम तिरेका थिए। उनी गत कार्तिक २ गते नेपाल फर्कन सफल भएकी थिइन्। नेपाल फर्किएकी पीडित महिलाले रानाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उजुरी हालेकी थिइन्। तर, अभियुक्त राणा फरार थिए। खोजतलासका क्रममा गत शुक्रबार ब्युरोबाट खटिएको टोलीले उनलाई बालाजुस्थित क्षेत्रबाट पक्राउ गरेको हो।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दिन पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०८० २०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App