समाज

बेलुका लजमा सुतेका व्यक्ति बिहान मृत भेटिए

नारायणगढको पोखरा बसपार्कस्थित एक होटलमा पुरुषको शव फेला परेकाे छ। पोखरा बसपार्कमा रहेको न्यु दिप होटल एन्ड लजमा सुतेका माडी नगरपालिका ८ स्थित अयोध्यापुरीका ५५ वर्षीय लालबहादुर रानामगर शनिबार मृत अवस्थामा फेला परेका हुन्।

शुक्रबार राति बास बसेका रानामगर शनिबार बिहान होटलको ५ नम्बर कोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ‘राति ८ बजे होटलमा वास बसेको देखिन्छ। बिहान खाना खान नआएपछि हेर्न जाँदा भित्रबाट चुक्कुल लगाएको अवस्थामा उनी मृत भेटिएका थिए’, चितवन प्रहरीले भनेको छ।

उनले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। माडीबाट आफन्त आएपछि उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ। प्रहरीका अनुसार आफन्तले जाहेरी दिएपछि पोस्टमार्टम गरिने छ। घटनाको छानबिनका लागि अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ फाल्गुन २०८० १०:४९ आइतबार

नारायणगढको पोखरा बसपार्क न्यु दिप होटल एन्ड लज लालबहादुर रानामगर मृत अवस्थामा फेला