समाज

सुखानीका सहिद सम्झिँदै कम्युनिस्ट दल

फागुन १० गते सुखानीस्थित सहिदको सालिकमा माल्यार्पण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की। फाइल तस्बिर

नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने ‘झापा विद्रोह’ का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट दलले विशेष रूपमा लिने गरेका छन्।

आजै (२०२९ फागुन २१) कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी (हाल माई नगरपालिका) स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो। झापाबाट इलाममा जेल सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको घटना ‘सुखानी काण्ड’ का रूपमा चर्चित छ।

सहादत प्राप्त स्थलमा सहिद सुखानी स्मृति प्रतिष्ठानले पाँचै सहिदको अर्धकदको सालिकसमेत रहेको सहिद स्तम्भ निर्माण गरेको छ। नजिकै झापाको सालबारीमा यसअघि नै सुखानीका सहिदको पूर्णकदको सालिक निर्माण भइसकेको छ।

सुखानीका सहिदलाई तत्कालीन केपी ओली सरकारले २०७२ फागुनमा सहिद घोषणा गरेको थियो। आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु भएका आफ्ना सहकर्मी र मार्गदर्शकलाई सहिद घोषणा गर्नुपर्ने लामो समयदेखिको माग सरकारले ४३ वर्षपछि पूरा गर्दा इलाम र झापासमेतका जिल्लाका कम्युनिस्ट नेता–कार्यकर्ता हर्षित भएका थिए।  

सुखानीमा हत्या गरिएका योद्धालाई सहिद घोषणा गरेको साल तत्कालीन नेकपा (एमाले) ले सुखानीबाट ‘मेची भ्रमण अभियान’ समेत सञ्चालन गरेको थियो।

कुइँकेल, घिमिरे र श्रेष्ठ झापाको गरामनी गाविसका बासिन्दा थिए। दाहाल चारपाने र राजवंशी ज्यामिरगढी बस्थे। उनीहरूलाई एकैसाथ हत्या गरिएको ठाउँमा केही वर्षपहिले सहिद पार्क बनाइएको छ। उनीहरूलाई हत्या गरिएकै स्थानमा अहिले सहिदकै संख्याका पाँच रुख छन्। झापा आन्दोलनमा गरामनीकै बिर्जुलाल राजवंशी, हरिकृष्ण चौधरी, भेटला राजवंशी र हेमबहादुर खड्काले समेत सहादत प्राप्त गरेका थिए। प्रहरी नियन्त्रणका बेला जेलमै गोली हानेर हत्या गरिएका योद्धालाई पनि सहिद घोषणा गर्न कम्युनिस्ट नेता–कार्यकर्ताको माग छ।

झापा आन्दोलनकै बेला झापा गरामनीका चन्द्र डाँगी पनि मारिएका थिए। २०३० साल साउन २० मा गरामनीस्थित नरियाबारीको एक घरमा बैठक गरिरहेका बेला प्रहरीले सुराकी पाएर उनीसहित १२–१५ जनालाई घेराबन्दीमा पारेको थियो। घेराबन्दीबाट उम्किने क्रममा घरबाट बाहिर निस्किँदै गर्दा डाँगी प्रहरीले हानेको गोलीले आँगनमै ढलेका थिए। उनलाई पनि सहिद घोषणा गरिएको थियो।  आजै एमालेले इलाम र झापामा विभिन्न कार्यक्रम आयोजना गर्दै छ।

सहिदको सम्मान गर्ने भन्दै हरेक सहिद दिवसमा ¥याली, कोणसभा र जुलुस आयोजना गरिन्छ, तर संगैका जिउ“दा योद्धा र सहिद परिवारको भने योगदानको कदर गर्नेतर्फ ध्यान जान सकेको छैन। झापा आन्दोलनका योद्धा विशेषगरी झापा र इलाममा छन्। उनीहरूबाट पटक–पटक आफ्नो उपेक्षा भएको गुनासो आउने गरेको वर्तमानका कम्युनिस्ट पार्टी पनि स्वीकार्छन्।

केही वर्षअघि झापा दुवागडीका डिगेन राजवंशीले एमाले मुख्यालय परिसरमा रुखमा पासो लगाएर आत्महत्या गरेका थिए। उनका छोराले पनि बाबु मरेको केही महिनामा घरमै पासो लगाए। यी घटनाले पनि सहिद र योद्धाको योगदान उच्च ओहोदाका नेताले भुल्दै गएको एमाले इलामका एक नेता बताउँछन्।

प्रकाशित: २१ फाल्गुन २०८० ०८:१३ सोमबार

नेपाली कम्युनिस्ट आन्दोलन सुखानीका सहिद कम्युनिस्ट दल कोसेढुंगा झापा विद्रोह नरियाबारी गरामनी