समाज

घुस लिन उक्साउनेलाई पनि भ्रष्टाचार मुद्दा !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र घुस दिन उक्साउने दुवै जनालाई विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले राहदानी बनाएबापत सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस मागेको देखिएको भन्दै मुद्दा दर्ता गरेको हो।

घुस दिनका लागि सुमी धामी भन्ने सुमित्रा सापकोटाले उक्साएकी थिइन्। सापकोटाले घुस दिने काममा भट्टराईसँग मिलेमतो गरी घुस बापतको रकम प्रतिवादी भट्टराईको खातामा जम्मा गरेको समेत पाइएको अख्तियारको दाबी छ।

राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी सेवाग्राहीबाट रकम लिएको अख्तियारको दाबी छ।

अख्तियारले घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको भन्दै सापकोटा र घुस लिने भट्टराई दुवै जनालाई ३४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै सजायसहितको जरिवाना दाबी गर्दै मुद्दा दर्ता गरेको छ। 

प्रकाशित: १४ माघ २०८० ०९:३३ आइतबार