समाज

निलम्बित न्यायाधीश भुवन गिरी र उनकी पत्नी आरतीका दर्जन मुद्दा

सर्वोच्च अदालतमा आत्मदाहको प्रयास गरेकी आरती रावल र उनका पति निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीका अदालतमा मुद्दैमुद्दा छन्। दुवैले एक अर्का विरुद्ध दर्जन मुद्दा दर्ता गरेका छन्।

आरती सर्वोच्च अदालतमा विरोध प्रदर्शन गर्ने क्रममा आज पनि पक्राउ परिन्। उनको मुद्दाको पेशी भोलि बुधबारका लागि तोकिएको छ। उनी सर्वोच्च अदालतमा मुद्दाको पेशी तोकिने अघिल्लो दिन पनि दबाब स्वरूप विरोध प्रदर्शनका लागि सर्वोच्च पुगेकी हुन्।

उनका पति न्यायाधीश गिरीविरुद्ध उनले जर्बजस्तीकरणी र वैवाहिक बलात्कार सम्बन्धी छुट्टाछुट्टै जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छिन्। उनले मात्रै होइन, न्यायाधीश भुवन गिरीले पनि उनीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गरेका छन्।

न्यायाधीश गिरी हाल न्याय परिषदमा काजमा तानिएका छन्। २०८० वैशाख १५ देखि उनी निलम्बनमा छन्। न्याय सेवामा कार्यरत गिरी २०७९ साल असारमा जिल्ला न्यायाधीशमा नियुक्ति पाएका थिए। उनले पाउने सबै सेवा सुविधा रोकिएको छ। निलम्बनमा परेपछि कानुन बमोजिम खाइपाइ आएको तलबको आधा मात्रै आउने गरेको छ।

गिरीले २०७९ मंसिर ११ मा बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। सँगसँगै उनले पत्नी आरतीविरुद्ध गाली बेइज्जती सम्बन्धी ७ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेका थिए। मुद्दामा साक्षीसम्म बुझ्नेसम्मको काम भैसकेको छ। मुद्दा विचाराधीन छन्।

२०८० वैशाख १५ मा उनकी पत्नी आरतीले गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा कपिलवस्तु जिल्ला अदालतमा दर्ता गरेकी थिइन। त्यसपछि उनी न्याय परिषदमा काजमा तानिएका थिए। सँगसँगै खाना खर्च सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन। त्यो मुद्दामा दुवै पक्षको आर्थिक हैसियत खुलाउने भन्ने आदेशसहित मेलमिलापमा पठाइएको छ। साथसाथै गिरीकी कान्छी छोरीले बुबा र आरतीलाई विपक्षी बनाउँदै अंश मुद्दा पनि दर्ता गरेकी छिन्।

आरतीले कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको आरोपमा मुद्दा दर्ता गरेकी थिइन। त्यसपछि गिरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबर्जस्तीकरणको मुद्दा दर्ता गरेकी छिन्।

त्यसपछि २०७९ चैत २८ मा गिरीलाई पक्राउ गरिएको थियो। २० दिनसम्म प्रहरी हिरासतमा राखिएका गिरीलाई कपिलवस्तु जिल्ला अदालतले २ लाख ७५ हजार धरौटी र काठमाडौँ जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी लिएर छोड्ने आदेश भएको थियो। २९ गतेका दिन काठमाडौँ जिल्ला अदालतमा पेशी तोकिएको थियो। सरकारी वकिलको तर्फबाट पेशी स्थगित गरिएको थियो। सोही दिन नै सर्वोच्च अदालतमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।

काठमाडौँ जिल्ला अदालतमा माघ १५ गते मुद्दाको पेशी तोकिएको छ। त्यसै गरी कपिलवस्तु जिल्ला अदालतमा माघ ८ गते पेशी तोकिएको छ। 

फेरि गिरीले आरतीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार सम्बन्धी निवेदन दर्ता गरेका थिए। २०८० असार ८ मा अदालतमा कागजको नक्कल लिन गएको बेलामा रावलले जुत्ता प्रहार गरेको भन्दै निवेदन दर्ता गरेका हुन्। त्यसपछि आरतीलाई पक्राउ गरिएको थियो। उनी पनि १३ दिन हिरासतमा बसेर साधारण तारेखमा निस्केकी थिइन।

त्यसपछि आरतीले न्यायाधीश गिरीको सेवा सुविधा खारेज गरिपाऊँ भनेर माइतीघर मण्डलमा धर्ना बसेकी थिइन। त्यसै समयमा उनी सर्वोच्च अदालतमा समेत प्रवेश गरेकी थिइन।

काठमाडौँ जिल्ला अदालतको थुनछेक धरौटीमा गिरीलाई छोड्ने आदेशविरुद्ध दुवै जनाले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। उच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेपछि त्यस विरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा आरतीको तर्फबाट ७३ नम्बर निवेदन दर्ता गरेको थियो। त्यसको पेशी भोलि बुधबार परेको छ। मुद्दामा दबाब दिन आरती आज पनि सर्वोच्च अदालत परिसरमा पुगेपछि पक्राउ परेकी थिइन। 

सुरुमा वैवाहिक बलात्कारको मुद्दा 

गिरी र आरतीबिच २०७५ साल असार १२ मा विवाह दर्ता भएको थियो। आरती गिरीकी दोस्री पत्नी हुन्। त्यसपछि सम्बन्धमा केही खटपट आएपछि गिरीले २०७६ साल मंसिरमा कैलाली जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। 

त्यसै समयमा आरतीले पनि २०७६ साल मंसिर ४ गते कैलाली जिल्ला प्रहरी कार्यालय जाहेरी दिएकी थिइन। भ्रुण हत्या र वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दर्ता भएको थियो। केही दिनपछि झुट्टा भन्दै आरती आफैले तामेलीमा राख्न माग गर्दे निवेदन गरेकी थिइन। त्यसपछि सहमतिमा  दुवै जनाको मुद्दा तामेलीमा पठाइएको थियो। त्यसपछि पति पत्नी साढे दुई वर्षसम्म काठमाडौँमा सँगै बसेका थिए। त्यसपछि फेरि सम्बन्ध बिग्रेको थियो।

प्रकाशित: २ माघ २०८० ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App