नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेका छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मुगुमा ‘छाँयानाथ राष्ट्रिय निकुञ्ज’ बनाउने निर्णय गरेसँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ।
संख्या थपिए पनि नयाँ भूगोलमा राष्ट्रिय निकुञ्ज निर्माण भने भएको होइन्। यसअघि से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेटिएको मुगु जिल्लाको भूभागलाई छुट्टाएर अलग्गै राष्ट्रिय निकुञ्ज बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
‘से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भूभाग निकै फराकिलो भयो, जसले व्यवस्थापनमा समस्या आइरहेको थियो,’ विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भने, ‘त्यसैले से–फोक्सुण्डो डोल्पाको भूभागमा मात्रै राख्ने र मुगुको भूभागमा छुट्टै राष्ट्रिय निकुञ्ज बनाउने विभागको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।’
अब मुगु जिल्लाको मुगुम कर्मारोङ गाउँपालिकाको भूभागमा छाँयानाथ राष्ट्रिय निकुञ्ज बनेको छ । जसको क्षेत्रफल ‘कोर एरिया’(निकुञ्ज क्षेत्र)मा ८४३ वर्गकिलोमिटर र मध्यवर्ती क्षेत्रमा १७७ वर्गकिलोमिटर कायम भएको छ।
पहिले कुल तीन हजार ५५५ वर्ग किलोमिटर क्षेत्रफल रहेको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अब साँघुरिएर डोल्पा जिल्लामा मात्रै सीमित भएको छ। जसको क्षेत्रफल अझै दुई हजार ७१२ बाँकी छ। जहाँ मध्यवर्ती क्षेत्र पनि अझै ११ सय वर्गकिलोमिटर भन्दा बढी छ। ‘से–फोक्सुण्डो अझै पनि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज नै हो,’ विभागका सूचना अधिकारी आचार्यले भने।
छाँयानाथ मुगुको दोस्रो राष्ट्रिय निकुञ्ज बनेको छ। प्रसिद्ध रारा ताल क्षेत्र पर्ने १०६ वर्गकिलोमिटरको भूगोलमा रारा राष्ट्रिय निकुञ्ज मुगुमै अर्को छ।
छायाँनाथ क्षेत्रमा हिउँ चितुवा, तिब्बती खरायो, नाउर, नीलो भेडा, कस्तुरी, मृग, जंगली याक, ब्बासो, तिब्बती गधा, चिरुजस्ता वन्यजन्तु पाइन्छन्। यस्तै डाँफे, मुनाल, कालिजजस्ता दुर्लभ पंछीको बासस्थान पनि छायाँनाथको वन क्षेत्र हो।
मुगुबाटै प्रतिनिधित्व गर्ने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले छायाँनाथ राष्ट्रिय निकुञ्ज बनाउन पछिल्लो पटक जोडबल गरिरहेका थिए। छायाँनाथ प्रसिद्ध धार्मिक स्थलको नामबाट नामाकरण गरिएको हो। मुगु जिल्लामा पर्ने छायाँनाथ धामलाई विश्वका पाँच ठुला धाममध्ये एक मानिन्छ । भारतको उत्तराखण्डमा रहेका केदारनाथ, बद्रिनाथ र नेपालको पशुपतिनाथ र मुक्तिनाथ जस्तै छायाँनाथ धाम रहेको मान्यता छ।
छायाँनाथमा दर्शन गर्दा पाप पखालिने जनविश्वास छ। छायाँनाथमा हरेक बर्ष जनैपूर्णिमामा मेला लाग्छ। छायाँनाथको महिमा धार्मिक कथा स्वस्थानीसँग जोडिन्छ। छायाँनाथमै सतीदेवीको अन्तिम अंग नाभी पतन भएको मान्यता छ ।
समुद्री सतहदेखि ५ हजारबढी मिटर उचाइमा रहेको छायाँनाथ धाममा ढुंगैढुंगाले बनेको छायाँनाथको गाँथ, शिव र बुद्धको मूर्ति छन्। यस्तै यहाँबाट रारा ताल, कान्जिरोवा हिमाल, हरियाली डाँडापाखा, २२ पाटन, २२ पाखा हेर्न पाइन्छ ।
यसअघि नेपालमा चितवन, बर्दिया, बाँके, खप्तड, लाङटाङ, पर्सा, शिवपुरी नागार्जुन, सगरमाथा, मकालु वरुण, शे–फोक्सुन्डो, रारा र शुक्लाफाँटा गरी १२ वटा मात्रै राष्ट्रिय निकुञ्ज थिए।
प्रकाशित: १३ भाद्र २०८२ १८:४६ शुक्रबार