समाज

राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै उनले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्नेछ विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार पर्व मनउने गरेका छन्। 

प्रकाशित: १५ पुस २०८० ०१:५३ आइतबार

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति रामचन्द्र पौडेल गुरुङ गुरुङ समुदाय तमु ल्होसार समृद्ध मुलुक बहुसांस्कृतिक