सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको भौगोलिक अवस्था र पुनर्निमाणका विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरको एउटा टोलीलाई त्यसतर्फ पठाएको छ। मन्त्रालयका सचिव सरजुकुमार वैद्यका अनुसार इन्जिनियरको टोलीले प्रतिवेदन बनाएर दिएपछि विस्तृत कार्ययोजना तयार पारिने छ। त्यसपछि मुख्य सचिवसँग पुननिर्माणका विषयमा छलफल गरिने उनले जनाए। उक्त टोली सोमबार काठमाडौंबाट त्यसतर्फ गएको हो।
टोलीको नेतृत्व मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर लीला खतिवडाले गरेका छन्। टोलीमा भवन विभागका इन्जिनियर देवेन्द्रदेव खनाल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका किशोरविक्रम शाही र नरेशचन्द्र भट्ट, नेपाल इन्जिनियरिङ एसोसिएसनका डा. गोकर्ण मत्रा र डा. राजुन सुवाल छन्।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख तथा मन्त्रालयका सहसचिव कोषनाथ अधिकारीका अनुसार उक्त टोलीले पुनर्निर्माणमा अपनाउनुपर्ने प्रविधि, त्यहाँको भूवनोट, बस्ती बसाउन सकिने स्थललगायत विषयमा अध्ययन गर्ने छ।
‘अहिले त्यस क्षेत्रमा कस्ता घरहरू छन, अब भूकम्पीय जोखिमबाट सुरक्षित राख्न कस्ता घर बनाउनेलगायत विषयमा इन्जिनियरको टोलीले अध्ययन गर्ने छ,’ अधिकारीले भने, ‘टोलीले काम सुरु गरिसकेको छ। टोली काठमाडौं फर्केपछि आवश्यकताका आधारमा भूगर्भविद्हरूको अर्को टोली पनि पठाउने छौं।’
भूकम्पबाट कति घर पूर्ण र आंशिक क्षति भए भन्ने विषयमा इन्जिनियरिङ दृष्टिकोणट यकिन संख्या अझै आउन सकेको छैन। मन्त्रालयले पठाएको टोलीले यस विषयमा पनि यथार्थ विवरण संकलन गर्ने छ।
मन्त्रालयले उपसचिव सरहका सिनियर डिभिजन इन्जिनियरलाई फिल्डमा खटाएको छ। मन्त्रालय मातहतका स्थानीय पूर्वाधार विभाग (डोली) मा २१ जना र सहरी विकास तथा भवन निर्माण विभागमा १४ जना गरी ३५ जना सहसचिव सरहका इन्जिनियर कार्यरत छन।
२०७२ सालमा झै यसपटक पनि सहसचिवसरहका इन्जिनियरको नेतृत्वको टोलीलाई फिल्डमा खटाउनुपर्नेमा त्यसो हुन नसकेको मन्त्रालयका एक उच्च कर्मचारीले बताए। ‘मन्त्रालय मातहत सहसचिव सरहका इन्जिनियर ३५ जना छन्। तर फिल्डमा एकजना सहसचिव गएनन्। उपसचिवलाई पठाइयो। कम्तीमा एकजना भए पनि सहसचिव जानुपर्थ्याे,’ ती कर्मचारीले भने, ‘यसबाट सहसचिव फिल्डमा जान नचाहेको देखिन्छ।’
प्रकाशित: २३ कार्तिक २०८० ०१:११ बिहीबार