बुद्धचित्तको खेती गर्ने बढेसँगै सिन्धुलीमा बोधिचित्तको व्यावसायिक नर्सरी गर्न थालिएको छ। पछिल्लो समय बुद्धचित्त मालाको बिरुवा रोप्नेहरु बढेसँगै यसको नर्सरीलाई व्यवसायीकरण गर्न थालिएको हो।
सिन्धुलीको सुनकोसी गाउँपालिका घ्याम्पाटारका छेडुप लामा मोक्तानले व्यावसायिक नर्सरी गरी धमाधम बिरुवा बिक्री वितरण गर्न थालेका हुन्। चार वर्षदेखि बुद्ध चित्तको नर्सरी गरिरहेका लामाले व्यावसायिक रूपमै हाल नर्सरी गरेका छन्।
३८ सय बिरुवा आफ्नो नर्सरीमा रहेको र सो बिरुवाबाट यस वर्ष दश लाख आम्दानी हुने अपेक्षा रहेको छेडुप बत्ताउँछन्।
बुद्धचित्तका विभिन्न प्रकार हुने गरेका छन्। रुद्राक्षको झैँ तीन मुखे चार मुखे पाँच मुखे लगायतका प्रकार हुने किसान बत्ताउँछन्। छेडुपको नर्सरीमा तीन मुखे चार मुखे र पाँच मुखेको बिरुवा रहेको छ। जसलाई प्रतिबिरुवा १२ सय देखि दुई हजारसम्ममा बिक्री हुने गरेको उनी बत्ताउँछन्।
‘धेरै बिरुवा रोप्ने किसानलाई विशेष छुटका साथ बिरुवा दिने गरेको छु’, उनले भने, ‘एकै बोटबाट लाखौँ आम्दानी लिन सकिने बुद्ध चित्तको व्यावसायिकता बढाउन मैले नर्सरी सुरु गरेको हुँ।’
उनले गाउँमा बुद्ध चित्तको खेती राम्रो हुने भएकाले किसानले बिरुवा रोप्दा केही वर्षमै राम्रो आम्दानी लिन सक्ने बत्ताउँछन्।
गर्तिर क्षेत्रमा बढी हुने बुद्ध चित्तको खेती गर्न किसान पछिल्लो समय हौसिँदै गएपछि किसानलाईनै सहजताका लागि आफूले नर्सरी गर्न सुरु गरेको छेडुप बत्ताउँछन्।
बुद्ध धर्मालम्बिहरुले यसको मालाको रुपमा प्रयोग गर्दै आएका छन्। माला महँगो पर्न थालेपछि किसानले बोटबाटै बुद्धचित्त लाखौँ रुपैयाँमा बिक्री गर्ने गरेका छन्।
‘हामीकहाँ बिरुवा तयारी अवस्थामा छ’, छेडुपले नागरिक न्युजसँग भने, ‘यो खेती विस्तार गरी किसानलाई आम्दानीको स्रोत बढाउन सहज हुन्छ।’
नेपालमा मात्रै नभएर छिमेकी मुलुक चिनमा बुद्धचित्तलाई धेरै राम्रो मानिने भएकाले यसको बजार राम्रो रहेको स्थानीय बत्ताउँछन्। रोपेको तीन देखि चार वर्षमा फल लाग्न सुरु हुने बुद्ध चित्तको एउटै बोटमा हजारौँ दाना फल्ने सुनकोसी गाउँपालिका-१ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताए।
तीन देखि सात मुखेसम्म हुने फलको प्रकार हेरी एउटै दानाको चार सय रुपैयाँ देखि लाखौँ रुपैयाँसम्ममा बिक्री वितरण हुने किसानहरुको भनाई छ। विशेष गरी सानो आकारको फलको मूल्य धेरै र ठुला आकारको फलको मूल्य कम हुने गरेको छ।
प्रकाशित: २९ आश्विन २०८० १४:०५ सोमबार