समाज

जुम्लामा दसैं लक्षित सहुलियत दरमा चामल वितरण गरिने

जुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चामलको बिक्री वितरण गर्न भएको छ। असोज २१ गतेदेखि सहुलियत दरमा चामल बेच्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जुम्लामा १ हजार २ सय क्विन्टल चामल आइपुगेको छ। यस वर्षको दसैंका लागि यो संख्याको चामल पर्याप्त हुने कम्पनीका प्रमुख निर्मल विष्टले जानकारी दिए।

‘अहिले गोदाममा दसैंका लागि १ हजार २ सय, कारागार जुम्लाको लागि २ सय ८० र जन्म मृत्युका लागि १ सय ५० क्विन्टल चामल मौज्दात राखिएको छ। सम्बन्धित वडाको सिफारिस ल्याएर पालिकैपिच्छे चामल लैजान सकिन्छ।’ प्रमुख विष्टले भने।

उनका अनुसार यस पटकको दसैंमा जिरा मसिनो चामल सहुलियत दरमा बिक्री गर्न लागिएको हो। उक्त चामलको मूल्य प्रतिबोरा २ हजार ३ सय रुपैयाँ रहेकोमा दसैं विशेष सहुलियत सहित २ हजार १ सय २५ रुपैयाँमै बेच्ने तयारी भइरहेको उनको जनाए।

‘जुम्लाको वार्षिक कोटा ५ हजार ५ सय क्विन्टल हो। हालसम्म १ हजार ३ सय २० क्विन्टल चामल आइसकेको छ। ४ हजार १ सय ८० क्विन्टल चामल आउन बाँकी छ।’ उनले भने।

चामल वितरणको लागि कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकाको लागि धापामा कम्पनीको डिपो राखिएको छ।

प्रकाशित: १७ आश्विन २०८० १५:३० बुधबार