समाज

पूर्वमा जुट खेती: ३ नयाँ जातको बीउँ सिफारिस, दुई जातको गर्ने तयारीमा

देशकै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले पछिल्लो समय उन्नत तीन नयाँ जातको बीउ सिफारिस गरेको छ। अब चाँडै नै दुई नयाँ जातको सिफारिस गर्ने तयारीमा रहेको छ।  

केन्द्रले जुटको अनुुन्धान थालेको २० वर्षपछि अघिल्लो वर्ष दुई जात र पछिल्लो समय एउटा जातको बीउँ सिफारिस गरेको हो।

जुटबाली अनुसन्धान कार्यक्रम इटहरीका कार्यक्रम संयोजक बिनोदकुमार गुप्ताका अनुसार अघिल्लो वर्ष अनुसन्धान केन्द्रले रानी र जोआरओ २०४ जातको बीउ सिफारिस गरेको थियो। पछिल्लो समय इटहरी चार जातको बीउँ सिफारिस गरेको छ। यस्तै, अब चाँडै नै एनजे ७०१० र जेआरओ २०४ जातको बीउँ सिफारिस गर्न लागेको अनुसन्धान कार्यक्रमका संयोजक गुप्ताले बताए।

एक वर्षअघिसम्म किसानले २०५८ सालमा सिफारिस भएको पूराना जातको बीउँ चलाई रहेका थिए। जसमा ७५ जातको साँझा र ८० जातको तोसाको बीउँ किसानले प्रयोग गरेका थिए। ‘पुराना जातको बीउँबाट राम्रो उत्पादकत्व हुँदैनथ्यो,’ अनुुसन्धान कार्यक्रम संयोजक गुप्ताले भने, ‘नयाँ जातको बीउँ सिफारिस भएसँगै केही हदसम्म सुधार भएको  छ।’

दुई दसकअघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो। तर, पछिल्लो समय जुट खेतीको उत्पादन घट्दो छ। सन् २०१०–११ मा झापा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायतका जिल्लामा १० हजार ५५९ हेक्टर जुट खेती हुने गरेकोमा पछिल्लो समय सात हजार पाँच सय हाराहारी हेक्टरमा जुट खेती हुने गरेको छ। शुरुवातमा १.३७ मेट्रिक टन प्रति हेक्टर जुटको उत्पादकत्व भएपनि पछिल्लो समय भने १.४५ मेट्रिक टन प्रति हेक्टर जुटको उत्पादकत्व हुने गरेको अनुसन्धान केन्द्रको रेकर्डमा उल्लेख छ।

जुटप्रति किसानलाई आकर्षित गर्नका लागि अनुुसन्धान केन्द्रले वर्षेनी नयाँ–नयाँ अनुसन्धान गरेर सोही अनुसार अघि बढ्न पनि सुल्झाएको कार्यक्रम संयोजक गुप्ताले बताए। उनका अनुसार पछिल्लो समय जुटको बीउँसँगै लट्टे साग छर्ने कार्यक्रम पनि अघि सारिएको छ। जुटसँगै लट्टेको छर्दा लट्टे अघि हुर्केर झार आउन दिदैन्। अनि लट्टेको साग विक्री गरेर पनि किसानले आम्दानी गर्छन्।

किसानका लागि जुट अनुसन्धान केन्द्रले घाँसलाई एजिल र सनराइज विषादी प्रयोग गरेर पनि झार नष्ट गर्न सुल्झाएको छ। यो विषादी जुट छरेको ठीक २१ दिनमा प्रयोग गरिन्छ। जुट खेतीका लागि सवैभन्दा खर्चिलो गोडमेल गर्न हुने गर्छ। गोडमेल गर्नकै लागि केन्द्रले घरेलु प्रविधि अन्तर्गत सस्तो शुल्कमा झार उखेल्ने मेसिन तयार गरेको जनाएको छ। 

स्वदेशी उत्पादनले नेपाली जुट पूर्वका जुट उद्योगका लागि १८ देखि २० प्रतिशत मात्र भ्याउने गर्छ। बाँकी नेपाली जुट उद्योगले भारत र वंगलादेशबाट जुट आयत गर्ने गरेका छन्। नेपालबाट उत्पादित जुट सामग्रीको सवैभन्दा ठूलो बजार पनि भारत नै हो।

सुनसरी–मोरङ्मा सञ्चालित ११ उद्योगमध्ये अहिले आधाजसो मात्र चालु छन्। नेपालका जुट उद्योगले क्वालिटीको जुट खोज्ने पनि भाउँ पनि नपाउने समस्या रहेको अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक गुप्ताले बताए। ‘किसानलाई खर्च अनुसारको नाफा भएन्। मार्केटमा भाउँ भएन,’ उनले भने, ‘सरकारले नीति नै बनाएर न्यूनतम मूल्य यकिन गरे किसानको हितमा हुने थियो।’

अनुसन्धान केन्द्रले क्वालिटी जुटका लागि जुट काटेर पोखरीमा कुहाउँदा माथिबाट माटोले किच्ने गरेपनि अब भने जलकुम्भी झार प्रयोग गर्न सुल्झाएको छ। माटोले किच्दा जुट कालो हुने गर्छ भने जलकुम्भी प्रयोग गर्दा चम्किलो हुने गर्छ। यस्तै, विस्तारै पानी आउने अनि विस्तारै बग्ने खाल्डोमा मात्र जुट कुहाउन सुल्झाइएको छ। केन्द्रले काटेको जुट मेसिन प्रयोग गरेर ग्रिन फाइबर निकालेर कुहाउने प्रविधिलाई पनि जोड दिएको छ।

रबर खेतीको थप अनुसन्धान  

जुट अनुसन्धान केन्द्रको स्वामीत्वमा रहेको २२ हेक्टर जमीनमा जुटसँगै रबर खेतीका पनि अनुसन्धान थालिएको छ।  

झापाको भद्रपुर र इलामको दानाबारीमा व्यवसायिक रुपमा नीजि स्तरबाट रबर खेती हुँदै आएको छ। तर, अहिलेसम्म रबर खेतीको अनुसन्धान भने भएको थिएन। जसले गर्दा जुट अनुन्धान केन्द्रले नै नयाँ छ जातको विरुवा रोपेर अनुसन्धान थालेको हो।

केन्द्रले अहिले रबर ६००, जी टी एक, रबर हाइब्रिड ४२२, आरआरआइएम ४३०, आरआरआइएम ४२९, आरआरआइएम ४१७ र आरआरआइएम ४१४ जातको बीउँ रोपेर अनुसन्धान थालेको हो। रबर उत्पादन सात वर्षमा मात्र हुने गर्छ। जसले गर्दा यसको अन्तिम रिजल्ट आउन भने पर्खनु पर्नेछ। 

प्रकाशित: १५ आश्विन २०८० १३:१२ सोमबार

जुट खेती