साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ई: सहितका अभियन्ता र काठमाडौं महानगर बिचको मंगलबारको वार्ता निष्कर्ष विहीन भएको छ।
महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबिच मंगलबार दिउँसोदेखि रातिसम्म चलेको वार्ता निष्कर्ष विहीन भएको वार्तामा सहभागी काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।
वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन लगायतका सहभागी रहेका थिए भने अभियन्ता ईःका तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए।
वार्तामा काठमाडौं महानगरले सडक व्यवसायीलाई स्थान तोकेर व्यापार गर्न दिन लचिलो भए पनि व्यवसायीले त्यो स्वीकार नगरेका कारण वार्ता बिथोलिएको अनुमान गरिएको छ। ‘आजको वार्ता निष्कर्ष विहीन भएको छ, अर्को वार्ताको कुरा भएको छैन,’ प्रवक्ता मानन्धरले भने। सहरका गरिबलाई गरिखान दिनुपर्ने लगायतका माग राखेर अभियन्ता ई: विगत ८ दिनदेखि उभिएर आन्दोलनरत छन्।
प्रकाशित: ९ आश्विन २०८० १५:३५ मंगलबार