इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका लागि २४ सय भाइल सर्पदंशको औषधी एन्टी स्नेक भेनम (एएसभी) मौज्दात रहेको र थप केही साताका लागि पुग्ने जनाएको छ। महाशाखाका प्रकोप व्यवस्थापन प्रमुख डा. अमृत पोखरेलका अनुसार २४ सय भाइलमध्ये आठ सय भाइल तराई क्षेत्रका लागि मौज्दात रहेको जानकारी दिए। यो औषधी केही साताका लागि पुग्ने र एक साताभित्र भारतबाट लिने गरी तयारी भइरहेको जानकारी दिए।
सर्पदंशको औषधी अभाव सुनेपछि बुधबार नै सम्बन्धित निकायबिच आकस्मिक छलफल गरी औषधीको स्थितिबारे जानकारी लिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदशं विज्ञ डा. सञ्जीवकुमार शर्माले बताए।
उनका अनुसार देशभरमा रहेका सरोकारवाला समूहबिच जानकारी लिँदा अहिलेको मौज्दातले थप एक महिना उपचार गर्न पुग्छ। इपिडिमियोलोजी महाशाखाले भारतबाट खरिद गर्ने तयारी गरिरहेको छ। यो हिसाबले सर्पदंशको औषधी अभाव भई उपचार नपाउने स्थिति छैन। महाशाखाका प्रकोप व्यवस्थापन प्रमुख डा. पोखरेलका अनुसार हालको मौजदातले दुई हजार बिरामीको उपचार गर्न पुग्छ।
डा. शर्माका अनुसार नेपाल र भारतमा पाइने सर्पको प्रजाति एउटै भएकाले यी सर्पको विष मार्ने औषधी पनि भारतमा मात्रा उत्पादन हुन्छ। औषधीका लागि खरिद प्रक्रिया अघि बढिसकेको र सक्दो छिटो आपूर्ति हुने महाशाखाका निर्देशक डा. अनुज भट्टचलने बताए।
व्यवस्थापन महाशाखाका अधिकृत डा. चेतननिधि वाग्लेले औषधिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भई आपूर्तिको अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार यो वर्ष १३ हजार दुई सय भाइल औषधी खरिद भएको छ। खरिद कम्पनीले यही साताभित्र आउने सुनिश्चितता गरेको छ। साथै अभाव भएको ठाउँमा पठाइरहेको उनले जानकारी दिए।
प्रकाशित: २८ श्रावण २०८३ १०:०७ बिहीबार