नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका हुन्।
विपद्का घटनामा परी ४३ जना घाइते भएका छन् भने पाँच वटा चौपायाको क्षति भएको प्राधिकरणले जनाएको छ। विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनाबाट करिब ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी परिचालन गरिएको छ। उनीहरूले दुई जनाको सकुशल उद्धार गरेको प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा पहिरोबाट मात्रै १० जनाको मृत्यु भएको छ भने विभिन्न स्थानका १२ वटा सडक अवरुद्ध भएका छन्।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पहिरो, बाढी, डुबानलगायतका विपद्का घटना बढिरहेका छन्। प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई निरन्तरता दिइरहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८ः४५ बजेसम्म देशभरका ४ सय १४ वर्षा मापन केन्द्रमध्ये ३ सय ४५ केन्द्रमा वर्षा मापन भएको छ। तीमध्ये सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमुल केन्द्रमा १५२ दशमलव ९ मिलिमिटर रेकर्ड भएको छ।
चालु आर्थिक वर्ष २०८३ वैशाख १ गतेदेखि साउन २९ गतेसम्म देशभर ४ हजार ६ सय ५९ वटा विपद्का घटना भएका छन्।
प्राधिकरणका अनुसार उक्त अवधिमा विपद्मा परी २ सय २९ जनाको मृत्यु भएको छ भने नौ जना अझै बेपत्ता छन्। एक हजार ४ सय ६३ जना घाइते भएका छन् भने ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
चार महिनाको अवधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।
प्रकाशित: ३० श्रावण २०८३ १६:१७ शनिबार