त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार हुने तय भएका १३ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
जजीरा एयरवेजको एउटा, कुवेत एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको दुई-दुई तथा फ्लाइ दुबई र कतार एयरवेजको तीन-तीन उडान रद्द भएका विमानस्थल कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार जजीरा र कुवेत एयरवेजको कुवेत-काठमाडौं-कुवेत, फ्लाइ दुबईको दुबई-काठमाडौं-दुबई, नेपाल एयरलाइन्सको काठमाडौं-दोहा र काठमाडौंं-दमाम, कतार एयरवेजको दोहा-काठमाडौं-दोहाको लागि तय भएको तीन वटा उडान र हिमालय एयरलाइन्सको काठमाडौं-दोहा-काठमाडौं र काठमाडौं दमाम काठमाडौं उडान रद्द भएका विमानस्थल कार्यालयले जनाएको छ।
मध्यपूर्व क्षेत्रको हवाई प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरु ढिलाई, पुनःतालिका वा रद्द हुन सक्ने सम्भावना रहेको पनि कार्यालयले स्पष्ट पारेको छ। विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिएको जानकारी गराएको छ।
यसबारे थप बुझ्न सम्बन्धित वायुसेवा कम्पनीको वेभसाइटमा हेर्न वा टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत कार्यालयले अनुरोध गरेको छ।
एयर अरेबियाले भने आजदेखि सबै उडान नियमित गरेको जनाएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ १९:०६ शनिबार