समाज

श्रममन्त्री भण्डारीद्वारा अनाथालयलाई एक लाख ११ हजार दान

फाइल तस्बिर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गरेका छन्। आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उनले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गरेका हुन।

गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट ज्ञान महायज्ञका अवसरमा अनाथालयलाई दान गर्न पाएको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गरे। मामाघर अनाथालय आश्रमको आयोजनामा गोदावरी–१४ बाँडेगाउँमा भदौ २० देखि ३० गतेसम्मका लागि महायज्ञ सुरु भएको हो। आजदेखि प्रसिद्ध कथा वाचक गरीमा उपाध्याय र उमा महेश्वरीबाट कथा वाचन हुनेछ।

महायज्ञको उद्देश्य देशभरका अनाथ बालबालिकाका लागि नेपालकै नमूना सुविधायुक्त तथा आधुनिक आश्रम बनाउने रहेको आश्रमका प्रमुख बालयोगेश्वर विजयमुर्ती महाराजले जानकारी दिए। गोदावरी वडा ३ का अध्यक्ष सानुराज घिमिरेले महायज्ञमा हजारौँको सङ्ख्यामा भक्तजन गोदावरीमा आउने भएकाले महायज्ञको आयोजनाबाट गोदावरीको पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २० भाद्र २०८० १४:३१ बुधबार

शरदसिंह भण्डारी श्रममन्त्री भण्डारीद्वारा अनाथालयलाई एक लाख ११ हजार दान मामाघर अनाथालय आश्रम श्रीमद्भागवत विराट ज्ञान महायज्ञ बालयोगेश्वर विजयमुर्ती कथा वाचक गरीमा उपाध्याय उमा महेश्वरी