समाज

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन्।  

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। आइतवार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उहाँले बताए।

मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो। प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन्। उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ। आइतवार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो।

प्रकाशित: १८ भाद्र २०८० ०४:५४ सोमबार

रुकुम पश्चिम बालबालिकाको मृत्यु खोलाले बगाउँदा चौरजहारी नगरपालिका