समाज

गौरीशंकर संरक्षण क्षेत्र अनिश्चित

श्याम भट्ट, काठमाडौं, वैशाख ३०- सगरमाथा आधार शिविरबाट घोषणा भइसकेको गौरीशंकर संरक्षण क्षेत्रको कार्यान्वयन अनिश्चित भएको छ। सँगै घोषणा भएको अपी नाम्पामा भने काम सुरु भइसकेको छ।

सरकारले स्थानीय समुदायको सल्लाहबिना संरक्षण क्षेत्र थप्ने निर्णय गरेपछि भएको विरोधले गौरीशंकरमा अडचन आएको हो।


प्राकृतिक स्रोतमा जनताको अधिकार खुम्च्याउन खोजिएको भन्दै संरक्षण क्षेत्रका स्थानीयले विरोध गरेका थिए। विरोधपछि अहिले गौरीशंकरको फाइल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएको विभागले जनाएको छ।


सरकारले हिमाली क्षेत्र दुई राष्ट्रिय निकुञ्जका बीचमा नयाँ संरक्षण क्षेत्र थप्ने तयारी गरेको थियो। लामो अध्ययनपछि सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्जका बीचमा गौरीशंकर संरक्षण क्षेत्र थप्ने घोषणा मन्त्रिपरिषद् बैठकले गरेको थियो ।


संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सिन्धुपाल्चोक, दोलखा र रामेछापको उत्तरी क्षेत्रलाई गौरीशंकर हिमालको नाममा संरक्षण क्षेत्र घोषणा गरिएको हो।


सामुदायिक वन उपभोक्ता महासंघका महासचिव भोला भट्टराईका अनुसार समुदायका अधिकार कुण्ठित गरेर संरक्षण क्षेत्र सफल नहुने हुँदा उनीहरूलाई पूर्ण अधिकार दिइनुपर्छ। अन्तर्राष्ट्रिय सन्धिविपरीत गौरीशंकर घोषणा गरिएकाले महासंघले गाउमा संरक्षण क्षेत्रबारे सचेतना अभियान चालाइरहेको बताउँदै उनले भने, 'गाउँलेको चाहना नबुझेर सरकारले हतारमा संरक्षण क्षेत्र घोषणा गर्दा हामीले विरोध गरेका हौं।' महासंघ सरकारको निर्णयविरुद्धको अभियानमा रहेको छ।


वन मन्त्रालयले तीनै जिल्लाको २०३५ वर्ग किलोमिटर क्षेत्रफललाई गौरीशंकर संरक्षण क्षेत्रमा समेटको थियो। पूर्वमा सगरमाथा, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनसम्म फैलिएको यो क्षेत्र पर्यटनका दृष्टिले महत्वपूर्ण छ ।


राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक सिद्धार्थ बज्राचार्यका अनुसार गौरीशंकर संरक्षण क्षेत्र घोषणाबारे राजपत्रमा सूचना निस्के पनि व्यवस्थापन गर्ने जिम्मेवारी नतोकिदा यसबारे आधिकारिक निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हुन आउँछ। राष्ट्रिय प्रकृति संरक्षण कोषले गौरीशंकर व्यवस्थापनको चासो देखाउँदै आएको थियो। 'अब विभागाले व्यवस्थापनको जिम्मेवारीबारे पहल गर्न आवश्यक छ,' वज्राचार्यले भने।


सिन्धुपाल्चोकको गुम्बा गाविसको आधा क्षेत्रफल, जुगल हिमाल, लिस्तिकोट, तातोपानी, फुल्पिङकट्टी, मार्मिङ, घोरथली, दोलखाको कालिञ्चोक, बिगु, आलम्पु, चिलंखा, लामाबगर, गौरीशंकर, मार्बु, खारे र श्यामा तथा रामेछापका चुचुरे र गुम्देल गाविस संरक्षण क्षेत्रमा पर्छन्।


प्रस्तावित क्षेत्रभित्र पर्यटनका हिसाबले महत्वपूर्ण मानिएका विभिन्न धार्मिकस्थलसाथै मनोरम हिमशृंखला छन्। पर्यटकले रुचाउने गरेको रोल्वालिङ क्षेत्र यहीँ पर्छ। यो क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेकाले पनि यसको महत्व रहेको विज्ञहरूको भनाइ छ।


तिब्बतस्थित कैलाश पवित्र भूपरिधि परियोजनाअर्न्तगत भारत, नेपाल र तिब्बतले कैलाश क्षेत्रसँग जोडिएका आ-आफ्ना भूभागमा संरक्षण गर्ने योजनाअर्न्तगत अपी नाम्पा र गौरीशंकर महत्वपूर्ण भाग हो ।

प्रकाशित: २९ वैशाख २०६७ २३:१९ बुधबार