गएको साउन १७ गते बुधबार सर्लाहीको कौडेना गाउँपालिका २ फुलपरासीका ४५ वर्षीय विन्देश्वर मण्डल उपचारका लागि जनकपुरधामस्थित न्युरो हस्पिटल एन्ड रिसर्च सेन्टरमा भर्ना भए। चिकित्सकले तत्कालै टाउकोको शल्यक्रिया नगरे जे पनि हुन सक्ने भनेपछि मण्डलका आफन्तजन अतालिए। अस्पताल पक्षले तत्काल एक लाख रूपैयाँ जम्मा गरेर शल्यक्रियाका लागि हस्ताक्षर गर्न भनेपछि मण्डलका आफन्त हतारिए। रकम व्यवस्था भएपछि मण्डललाई शल्यक्रिया कक्षमा लगियो। शल्यक्रिया कक्षमा पु¥याएको आधा घन्टा नबित्दै चिकित्सकले बाहिर निस्किएर भनेछन्– विन्देश्वरका दुवै मिर्गौला फेल छन्। शल्यक्रिया गरे निको हुन्छ।
शल्यक्रियापछि मण्डलको अवस्था सुधारको साटो झन् खराब हुँदै गएपछि अस्पतालले उपचार नहुने भन्दै घर लैजान भन्यो। उपचार खर्चबापत २ लाख ४० हजार रूपैयाँ लिएर बिरामीलाई जर्बजस्ती घर जान लगाएको आफन्त रामजीवनले बताए। अस्पतालले घर पठाएको भोलिपल्टै साउन २० गते बिहान विन्देश्वरको मृत्यु भयो।
गत जेठ ३ गते साँझ हावाहुरी चल्न थालेपछि धनुषाको बटेश्वर गाउँपालिका २ धुमासनका बयालीस वर्षीय सञ्जयकुमार महतो घरतर्फ दौडिए। दौडने क्रममा उनी घरनजिकै ट्र्याक्टरमा ठोक्किन पुगे। त्यहीं बेहोस भएर लडे। उनको परिवारले हतारहतार एम्बुलेन्स चढाएर बिरामीलाई जनकपुरधामको न्युरो हस्पिटल पु¥याए।
चिकित्सकले महतोलाई हेरेर यहीं निको हुन्छ भन्दै भर्ना गर्न लगाए। टाउकोमा गम्भीर चोट लागेको उनको सिटीस्क्यान गर्नुपर्ने भयो, तर अस्पतालमा सिटीस्क्यान मेसिन थिएन। गम्भीर अवस्थामै सञ्जयलाई एम्बुलेन्समा राखेर दुई किलोमिटर टाढाको सिटी स्क्यान सेन्टर लगियो। २÷३ घन्टा चेकजाँचमै बित्यो।
घाइते सञ्जयका साला सत्रोहन महतोका अनुसार राति २ बजेतिर टाउकोको शल्यक्रिया गरियो। भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो। भेन्टिलेटरबाट निकालेर सिटी स्क्यान गराउन तीन दिनसम्म लैजाने–ल्याउने गरियो। यसरी ओहोरदोहोर गराउँदा बिरामीको स्वास्थ्य अवस्था झनै बिग्रियो। जेठ ११ गते हस्पिटलले उपचार खर्चवापत ६ लाख सतासी हजार रूपैयाँ बुझाउन लगाएर बाहिर लैजान भन्यो। आफन्तले त्यतिबेलासम्म सिटीस्क्यान, औषधि र उपचारवापतको अन्य खर्चसमेत गरेर दुई लाख ९० हजार बुझाइसकेका थिए। अस्पतालमा जेठ १३ गते सञ्जयको मृत्यु भयो।
यी घटनापछि यो अस्पताल विनादर्ता सञ्चालनमा रहेको रहस्य खुल्यो। यो अस्पताल डेढ वर्षदेखि मधेस प्रदेशको राजधानी जनकपुरधामको विषहारा चोकमा रहेको छ। उपचार गराएर सुरक्षित घर फर्कने विश्वाससहित साउन ३ गते जनकपुरधामको सुरक्षा हस्पिटलमा भर्ना भएकी जनकपुरधाम पन्ध्र कपिलेश्वरकी २८ वर्षीया सोनिया साह सुरक्षित घर फर्किनन्। पाठेघरको शल्यक्रिया गराएको दुई दिनपछि उनको मृत शरीर लिएर आफन्त घर फर्किए। मृत्युपश्चात् मृतकका आफन्तजनले कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन गरे। अस्पताल पक्षले मृतक पक्षसँग लेनदेन गरी कारबाही प्रक्रिया रोके।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको अस्पताल दर्ता सूचीमा भने यो अस्पतालको नाम उल्लेख छैन।पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान ३ शिवमन्दिरको पूर्वपट्टि दुईतले भवनमा छ– माँ धमिनी अस्पताल प्रालि। उक्त अस्पताल एक वर्षदेखि दर्ताविनै शड्ढया राखेर चलाइएको छ। यो अस्पतालले शल्यक्रियासमेत गर्दै आएको लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डल बताउँछन्। उनले भने, ‘अनुगमनका क्रममा यो अस्पताल विनादर्ता सञ्चालनमा रहेको पाइयो। विनादर्ता सञ्चालित यस अस्पतालले शल्यक्रियालगायतका काम पनि अवैध रूपमा गर्दै आएको पाइएको छ। यसै अस्पतालले अवैध रूपमा एम्बुलेन्ससमेत सञ्चालन गर्दै आएको पाइएको छ।
माँ धमिनी अस्पताल सिरहाको गोलबजार नगरपालिकामा कानुनी हैसियत गुमाइसकेपछि बन्द भयो। जिवछ साह, वसन्त लामा र पवनकुमार साह सञ्चालक तथा मदन साह अध्यक्ष रहेको उक्त अस्पताल गोलबजार नगरपालिकाको रेकर्डमा कानुनी हैसियत गुमाइसकेको छ। तर, एक वर्षदेखि लहान नगरपालिका ३ मा सोही नामबाट सञ्चालित छ।
प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिडेन्टेन्ट सुनिलप्रसाद कुशवाहाले समेत सिरहाको गोलबजार नगरपालिकामा अवैध अस्पताल सञ्चालन गर्दै आएको पाइएको छ। उत्तिमलाल मेमोरियल अस्पतालका नामबाट मेसु कुशवाहा र उनकी श्रीमती सुशीला कुशवाहाको गोलबजार नगरपालिकामा अवैध अस्पताल सञ्चालनरत छ। गोलबजार नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णका अनुसार यो अस्पताल यस पालिकामा दर्ता भएको रेकर्ड छैन।
पूर्व–पश्चिम राजमार्गमा बोर्ड राखेर गैरकानुनी रूपमा अस्पताल सञ्चालन भइरहे पनि नियमनकारी निकायको आँखा परेको छैन।लहान नगरपालिका ८ स्थित नगर प्रहरीको पूर्वपट्टि सामुन्ने अवैध रूपमा सपना हेल्थ केयर सेन्टर सञ्चालित छ, जसको दर्ता रेकर्ड लहान नगरपालिकाको स्वास्थ्य शाखासँग छैन। यो हेल्थ केयरको सञ्चालन मात्र गैरकानुनी छैन, काम पनि गैरकानुनी हुने गरेको स्थानीय बताउँछन्। यो हेल्थकेयर अवैध गर्भपतन गराउने मुख्य केन्द्र भएको एक स्वास्थ्यकर्मीले बताए। प्रहरीकै अगाडि महिनौंदेखि सञ्चालित यस अवैध हेल्थ केयरबारे प्रहरी, अनुसन्धान कर्मचारी र स्थानीय प्रशासन जानकार भएर पनि चुपचाप बस्नुले सन्देह पैदा गरेको छ।
यी अवैध अस्पतालले गैरकानुनी रूपमा फार्मेसी, ल्याब, भिडियो एक्सरे सञ्चालनका साथै गर्भपतन, प्रतिबन्धित औषधि बिक्री र बिरामीलाई नक्कली प्यान बिल दिएर राजस्व छल्दै आएको एक स्वास्थ्यकर्मी बताउँछन्। प्रहरीको आँखैअगाडि अवैध अस्पताल सञ्चालन गरी अवैध धन्दा गरिरहँदा प्रहरी भने मूकदर्शक बनेको छ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२(१) मा कसैले पनि इजाजतपत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख छ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव भन्छन्, ‘दर्ता नभएका अस्पतालहरूको अनुगमनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ। बिरामीको चाप सरकारी अस्पतालले मात्रै धान्न सक्ने अवस्था नरहेकाले निजी क्षेत्रले पनि सुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने उनको भनाइ छ। तर दर्ताविना नै अस्पताल सञ्चालन गर्नु कानुनी अपराध रहेकाले कारबाहीको तयारी गरिरहेको उनले बताए।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिकामा स्वास्थ्य क्लिनिक, डायग्नोस्टिक सेन्टर, पोलिक्लिनिक तथा २५ शड्ढयासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहको निर्णयअनुसार आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सासँग सम्बन्धित स्वास्थ्य संस्थाका हकमा १० शड्ढया र २५ शड्ढयादेखि माथिका अस्पताल र विशेषज्ञ अस्पताल दर्ता गर्नका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट हुने प्रावधान छ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. मुक्ति नारायण साह भन्छन्, ‘मधेस प्रदेशमा विनादर्ता सञ्चालनमा रहेका अस्पतालहरूको सूची तयार भइरहेको छ। अब अनुगमन गरी स्थानीय तहसँग समन्वय गरेर कारबाही प्रक्रिया अगाडि बढाइन्छ।’ मापदण्ड पूरा नगरेकालाई एकपटक मौका दिएर दर्ता गराउन निर्देशन दिइने र तत्पश्चात् पनि दर्ता प्रक्रियामा नआए अस्पताल बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिने उनले बताए।
प्रकाशित: १२ भाद्र २०८० ०२:४८ मंगलबार