समाज

सुनसरीमा ४ करोड बढी मिटर ब्याजको दाबी, १ करोडको टुंगियो

फाइल तस्बिर

मिटर ब्याज विरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ।

जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटरब्याजी विरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको हो। आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो।

पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए। आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए। मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको माग सहित सुनसरी प्रशासनमा उजुरी हालेको बताए। उजुरी उपर छानबिन पश्चात प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुशी व्यक्त गरे।

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजी विरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन्। प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउनसके पीडितले सहजै न्याय पाउने बताइन्। प्रजिअ पाण्डेले जिल्लामा ५ सय बढी मिटरब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिइन्।  

जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सय भन्दा बढी उजुरीहरुको छानबिन गरिरहेको बताइन्।  

प्रकाशित: ३२ श्रावण २०८० ०७:२५ बिहीबार

मिटर ब्याज सुनसरी जिल्ला प्रशासन